८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रदेश ५ मा प्राकृतिक विपत्ती, चट्याङको कारण ६ जनाको ज्यान गयो



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश नं. ५ मा मंगलबार प्राकृतीक विपत्ती आई लागेको छ । विहानै देखि चर्को गर्मीको मार खेप्न बाध्य प्रदेश नं. ५ बासीले साँझ दुई दर्दनाक घटना सुन्न परेको छ ।
मंगलबार साँझ पख परेका दुई छुट्टा छुट्टै चट्याङले ६ जनाको अकालमै ज्यान गएको छ । घटना रुपन्देही र दाङमा भएको हो ।
मंगलबार साँझ साढे ६ बजेतिर दाङमा परेको चट्याङ्ले राप्ती गाउँपालिका ३ मौरीघाट निवासी ११ वर्षीय रमित चौधरी, ११ वर्षकै विनास चौधरी र १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक बिनोद बिक्रम शाहका अनुसार राप्ती ४ स्थित मौरीघाट माबि छेउमा रहेको जामुनाको रुपमा चढेका बेला सोही रुखमा परेको चट्याङ्ले तिनै जना बालकको घटना स्थलमै मृत्यु भएको हो ।
साथै सोही रुखमा चढेका विनासका भाइ ८ वर्षीय अविनास चौाधरी भने गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले बताएको छ ।
यता रुपन्देहीमा चट्याङ लागेर मंगलबार साँझ नै तीन जनाको ज्यान गएको छ । यसरी ज्यान जानेहरुमा गैडहवा गाउँपालिका ७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका–२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका–७ का ६२ वर्षीय चन्द्र बहादुर विक रहेको प्रहरीले जनाएको छ ।
घरखेतमा काम गरिरहेको बेला साँझ एक्कासी चट्याङ परेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार चट्याङ लागेर गम्भिर घाइते भएका एक जनाको मणिग्रामस्थित क्रिमशन अस्पतालमा र अन्य दुईजनाको बुटवलस्थित लुम्विनी प्रदेश अस्पतालमा मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएका सियारी गाउपालिका वडा नम्वर २ की १४ बर्षिय ममता साहनीको क्रिमशन अस्पतालमा र सियारी गाउपालिका वडा नम्वर ७ का ११ वर्षिय गौतम मल्लाह र १५ बर्षिय भोला मल्लाहको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० असार २०७६ मंगलबार ००:००  १० : ०२ बजे