८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नगर सभामा उठ्यो ‘युवती कप’ देखि पुरुषको ‘नागरिकता चेन्ज’सम्मको कुरा !



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको पाचौं नगरसभामा विवाहित पुरुषको नागरिकता परिवर्तनको माग उठेको छ । नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम माथि सुझाव दिदै नगर सभा सदस्यले यस्तो माग राखेका हुन् ।
नगरकी नगर सभा सदस्य शान्ता पाण्डेले अब विवाहित पुरुषको नागरिकता परिवर्तन गर्न माग गर्नुभयो । नागरिकतामा महिला र पुरुषको विभेद भएको भन्दै अब विवाहित पुरुष हो भने श्रीमतीको थर पनि नागरिकतामा जोड्ने गरी पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
विवाहित श्रीमतीको नागरिकतामा माईती र घरको थर हुने विवाहित पुरुषको नागरिकतामा आफ्नो मात्र किन उहाँले प्रश्न गर्दै भन्नुभयो, “यसलाई परिवर्तन गर्न पहल गर्ने गरी नीति कार्यक्रम आओस ।”
नागरिकतामा दुई पक्षकै थर राखे वहुविवाहमा कमी आउने उहाँको विश्वास थियो । आजभोली बहुविवाहका मुद्धा थुप्रै आउन थालेका छन्, महिला विवाह भएको प्रमाणित हुने पुरुष किन नहुने ? उहाँले प्रश्न गर्दै भन्नुभयो, “पुरुषलाई पनि विवाह भएको प्रमाणित गर्ने कानुन बन्नुपर्छ ।”
कतिपय पुरुषले आफु अविवाहित हुँ भन्दै महिलालाई फसाउने गरेको पनि उहाँले सभामा सुनाउनुभयो । पाण्डेले यस्तो माग गरि रहदा नगर सभाका सबै सदस्य गलल हाँसो । तर पाण्डेले भने यो मुद्धालाई गम्भिरता पूर्वक उठाउनुभएको थियो ।
यस्तै नगर सभाकी अर्की सदस्य इमकला क्षेत्रीले महिला लक्षित कार्यक्रम ल्याउने गरी नीति बनाउन माग गर्नुभयो । नगर सभामा आफ्नो माग राख्दै क्षेत्रीले भन्नुभयो, यहाँ मेयर कप, राष्ट्रपति रनिङ कपका कुरा मात्र आउँछन्, खै त युवती कप ? खेलकुदमा युवालाई मात्र नभए युवतीलाई पनि समावेश गर्न उहाँले जोडदार माग गर्नुभयो ।
नगर सभामा आ आफ्नो सुझाव राख्ने नगर सभा सदस्यले आफुलाई नगर सभाका लागि मात्र बोलाउने गरेको भन्दै गुनासो गरेका थिए । नीति तथा कार्यक्रम नगर कार्यपालिकाबाट बन्ने गरेको भन्दै अब आउँदा दिनमा सच्चाउन माग गरे ।

प्रकाशित मिति : १० असार २०७६ मंगलबार ००:००  ७ : २८ बजे