८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

शिवराजको नीति तथा कार्यक्रम : कृषि, उद्योग र पर्यटनमा जोड



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले आव ०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार बसेको पाचौं नगरसभामा बार्षिक नीति तथा कार्यक्रम पेश भएको हो ।
नगरसभामा पेश भएको नीति तथा कार्यक्रममा कृषि, उद्योग, पर्यटन र पूर्वधारलाई जोड दिइएको छ । बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख शिवकुमारी थारुले शिवराज नगरपालिका ऐतिहासिक नगरपालिका रहेकोले कृषि र पर्यटनलाई जोड दिइएको बताउनुभयो ।
नगरले कृषि सुधारको लागि कृषि अनुदानलाई थप व्यवस्थित गर्दै लक्षित वर्गको पहुँचलाई सुनिश्चित गर्ने गरी कार्यक्रम ल्याएको छ । सिंचाइको लागि डिप वोरिङ निमार्ण गरि सिंचाइ सुविधालाई विस्तार गर्ने योजना अघि सारिएको छ ।
नगरपालिकाले उत्कृष्ट कृषकहरुलाई पुरस्कार र क्षमता अभिवृद्धीको लागि तालिम आयोजना गर्ने भएकोछ । पशु तर्फ ‘गोठ देखि ओठ सम्म’ स्वस्थ्यकर दुग्ध कार्यक्रम संचालन गरी भकारो कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
त्यस्तै पर्यटनको विकासको लागि शिवगढी मन्दिर र सोनवागढ क्षेत्रको विकासलाई गुरुयोजना निमार्ण गर्ने अगाडि बढ्ने नीति लिएको छ ।
शिवराजमा नीजी क्षेत्रवाट आयोजना हुन लागेको केवलकार योजना प्रति नगरपालिका सकारात्मक रहने वताइएको छ । त्यस्तै सामाजिक विकास तर्फ शिक्षा स्वास्थ्य युवा खेलकुद, लैंगिक समानता र सामाजिक समावेशिकरण, संस्थागत विकास, सेवा प्रवाह र सुशासन, वातावरण तथा विपत ब्यवस्थापन सम्बन्धि विविध कार्यक्रम राखिएको छ ।
खरको छाना मुक्त अभियानलाई नगरपालिकाले निरन्तरता दिने वताएको छ । त्यस्तै सेवामैत्री संरचना तथा सेवाग्राही मैत्री व्यवहार मार्फत गुणस्तरिय सेवा प्रवाहलाई मूल मन्त्रका रुपमा अवलम्बन गरि लेखा प्रणालीलाई अनलाईन मार्फत सञ्चालन गरिएको छ भने योजना प्रणालीलाई सफ्टवेयरमा आधारित गर्न आवश्यक व्यवस्था मिलाईएको छ । नगरपालिकाको अर्को सभा १५ गते बस्ने गरी स्थगित भएको छ । त्यस दिन बजेट आउने जनाइएको छ ।

प्रकाशित मिति : १० असार २०७६ मंगलबार ००:००  ७ : ०२ बजे