८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बिप्लवले गरेको ‘नेपाल बन्द’को देशभर आंशिक प्रभाव, गाडीहरु चल्न सकेनन्   



मायादेवी अनलाइन, कपिलवस्तु । 

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलवार नेपाल बन्द आब्हान गरेको छ । सर्लाहीमा आफ्नो पार्टीका जिल्ला जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको बिरोधमा गरिएको नेपाल बन्दको यस क्षेत्रमा प्रभाव परेको छ ।

यस्तै प्रदेश ५ का अन्य जिल्लमा पनि बन्दको विहानैबाट प्रभाव परेको छ । बन्दका कारण मंगलबार विहानबाट सुरु हुने शिक्षण संस्था खुलेका छैनन् भने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । बजार पनि सुनसान छ ।  बन्दकर्ताहरुले बन्दको अवज्ञा गर्नेमाथि जे पनि हुन सक्ने भन्दै चेतावनी दिएपछि त्रासै-त्रासले चौतर्फी बन्दको प्रभाव परेको हो ।

सर्लाहीको लालबन्दीमा दोहोरो गोली हानाहानमा पौडेलको मृत्यु भएको प्रहरीले बताउदै आएको छ भने बिप्लवको पार्टीले पार्टीका अन्य कार्यकर्ताहरुसंग बसेर छलफल गरिरहेका बखत प्रहरीले अचानक गोली प्रहार गरेको बताउदै आएको छ । पार्टीका महासचिव विप्लवले एक बिज्ञप्ती जारी गरी सरकारले देशभर बर्बरतापूर्वक हत्या अभियान सञ्चालन गरेकोले त्यसका विरुद्ध नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको बताउनु भएको छ ।

यसैबीच नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार साँझ कार्कीलाई बालुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कार्की रेखा थापाले अभिनय गरेको फिल्म मालिकाका निर्माता हुन् । विप्लव समूहका केन्द्रीय सदस्य कार्कीले एक महिनाअघि भोजपुरमा प्रहरीको गोली लागेर कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएपछि फेसबुक स्टाटसमा बदला लिने लगायतका कुरा लेख्दै आएका थिए ।

वार्ताको पहल नगरेको खुलासा

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्ताको औपचारिक पत्र नै नपठाएको खुलेको छ । सरकारले ३० फागुन ०७५ मा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारका केही मन्त्री र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले समेत वार्ता र संवादबाट समस्याको समाधान खोज्न माग गर्दै आएका छन् ।

सत्तारुढ नेकपाभित्रै विप्लव समूहमाथि लगाइएको प्रतिबन्धबारे विवाद छ । सरकारले असन्तुष्ट विभिन्न समूहसँग वार्ता र पुराना सहमति कार्यान्वयनका लागि सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । टोलीले विप्लव समूहका दोस्रो तहका नेताहरुसँग अनौपचारिक रुपमा वार्ताको प्रयास गरेपनि आधिकारिक रुपमा ठोस पहल नगरेको पाइएको हो ।

नेकपाका महासचिव विप्लवले शुक्रबार जारी गरेको विज्ञप्तिमा सरकार भयानक भिडन्तको तयारीमा लागेको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘‘केपी ओली नेतृत्वको सामाजिक दलाल सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लुटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिएर हत्या गर्दैछ ।’’ विप्लवले यसकाकडा तरिकाले प्रतिबाद गर्ने चेतावनी पटकपटक दिइरहेको छ ।

प्रकाशित मिति : १० असार २०७६ मंगलबार ००:००  ६ : ०७ बजे