८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रविधिमैत्री शिक्षा आजको आवश्यकता



मायादेवी अनलाइन, चन्द्रौटा ।
राष्ट्रिय मावि चन्द्रौटा कपिलवस्तुमा संचालन भएको निःशुल्क ३९० घण्टे कम्प्यूटर हार्डवेयर प्राविधिक तालिम सकिएको छ ।
कक्षा ८ पास भई बेरोजगार बसेका नेपाली नागरिकलाई सीपमूलक तालिम दिई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम संचालन भएको हो । कार्यक्रमका बीच शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी र शिक्षा प्रमुख लोकराज पन्थीले तालिमका सहभागीलाई प्रमाण पत्र वितरण गरे । प्रमाण पत्र वितरण गर्दै नगरप्रमुख अधिकारीले अबको युगमा प्रविधि शिक्षाको आवश्यकता रहेकोमा जोड दिए ।
सूचना र प्रविधिको विकाससँगै हरेक मानिसमा आधुनिक प्रविधिको ज्ञान हुनुपर्ने नगरप्रमुख अधिकारीले तर्क राखे । कार्यक्रमका प्रमुख अतिथि रहेका अधिकारीले तालिमबाट सिकेका सीपलाई व्यवहारमा अवलम्बन गर्दै स्वरोजगारतर्फ लाग्नुपर्ने सुझाव दिए ।
यता शिक्षा शाखा प्रमुख लोकराज पन्थीले अबको शिक्षा नै प्रविधिमैत्री हुनुपर्ने औल्याए । कार्यक्रमका विशिष्ट अतिथि रहेका पन्थीले बेरोजगार युवायुवतीहरुका लागि तालिम लाभदायक रहेकोमा जोड दिए । विद्यालयका प्रधानाध्यापक टिकाराम पाण्डेले तालिमबाट एक सय जना स्वरोजगार बन्ने विश्वास व्यक्त गरे । ‘कम्प्यूटर हार्डवेयर सम्बन्धी आइपरेका समस्या आफैं हल गर्न सक्ने भएका छन्’ –उनले भने ।
तालिमकी सहभागी कविता आचार्यले कम्प्यूटर हार्डवेयर तालिमबाट आफूले धेरै ज्ञान हासिल गरेको बताइन् । तालिम उपलब्धीमूलक रहेको सहभागी आचार्यले बताइन् । आगामी दिनमा समेत रिफ्रेसर तालिम दिएमा अझ दक्ष बन्ने विश्वास व्यक्त गरिन् ।
राष्ट्रिय मावि चन्द्रौटाको आयोजना रहेको तालिम प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) को सहयोग र शिवराज नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ३ असार २०७६ मंगलबार ००:००  ७ : १९ बजे