मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका २ पिपरामा अवस्थित हिलवर्ट इंग्लिस बोर्डिङ स्कूलले अभिभावकका लागि दुई दिने तालिम आयोजना गरेको छ । शनिबार सकिने तालिममा अभिभावकहरुलाई अभिप्रेरणात्मक तालिम दिइने स्कूलका प्रबन्ध निर्देशक बुद्धि पौडेलले बताउनुभयो । तालिमका लागि अन्तर्राष्ट्रिय उत्प्रेरणात्मक प्रशिक्षक बिके शर्मालाई आमन्त्रण गरिएको निर्देशक पौडेलले बताउनुभयो ।
तालिम अवधिभर शर्माले विद्यार्थीको शिक्षण सिकाईमा अभिभावकको भूमिका, विद्यार्थीलाई पढ्ने वातावरण मिलाउनका लागि परिवारको दायित्व, अन्तर्राष्ट्रियस्तरमा विद्यार्थीको ज्ञान बृद्धि गराउन अभिभावकले खेलेको भूमिकाको बारेमा सिकाउनुहुनेछ ।
जिल्लामै उत्कृष्ट शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको हिलवर्टले झण्डै एक हजार अभिभावकहरुलाई तालिम दिने लक्ष्य राखेको प्रिन्सिपल कमल पौडेलले बताउनुभयो । अभिप्रेरणात्मक तालिमले विद्यार्थीको शिक्षण सिकाईमा महत्वपूर्ण उपलब्धि हासिल हुने प्रिन्सिपल पौडेलले विश्वास व्यक्त गर्नुभयो ।
बालबालिकालाई स्कूलको वातावरणले मात्र शिक्षण सिकाईमा राम्रो प्रभाव पार्न सक्दैन् । विद्यार्थीको पढाई राम्रो हुनका लागि घरायसी वातावरण पनि मिल्नुपर्नेमा अधिकांश शिक्षाप्रेमीको धारणा छ । अभिभावकले आफ्नो बालबच्चाको रुचि अनुसार शिक्षा दिन सके भविष्यका लागि राम्रो हुन्छ । विश्वका कयौं यस्ता उदाहरण व्यक्तिहरु छन्, जसले अभिभावकको चाहना भन्दा आफ्नै चाहनाले अध्ययन अध्यापन गरेर विश्वका सफल भएका । तालिमका प्रमुख प्रशिक्षक शर्माले प्रोजेक्टरको माध्यमबाट अभिभावकहरुलाई सैद्धान्तिक र व्यवहारिक जानकारी दिनुहुनेछ ।
विद्यार्थीको पढाई प्रति अभिभावकहरुलाई जिम्मेवार बनाउने र छोराछोरीको भविष्यको बारेमा बाबुआमालाई चिन्तित बनाउनका लागि हिलवर्टले यस्तो प्रकारको तालिम आयोजना गरेको स्कूल व्यवस्थापन समितिका अध्यक्ष दिपक खनालले बताउनुभयो ।
समितिका अध्यक्ष खनालको अध्यक्षतामा भएको तालिमको उद्घाटन समारोहमा वडा नं. २ का वडा अध्यक्ष विष्णु पौडेल, वाणगंगा नगरपालिका शिक्षा शाखा अधिकृत खिम बहादुर जिसी लगायतको आतिथ्यता रहेको थियो । स्कूलका प्रिन्सिपल कमल पौडेलको स्वागत मन्तव्य र शिक्षक डिल्लिराज पाण्डेको सञ्चालनमा तालिमको उद्घाटनसस्त्र सकिएको हो ।
प्रतिक्रिया