८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सगरमाथा आधारभूत विद्यालयले मनायो १५ औं वार्षिक उत्सव



मायादेवी अनलाइन, अर्घाखाँची ।
सगरमाथा आधारभूत विद्यालय शितगंगा नगरपालिका वडा नं.-९ बसेनीको १५ औं वार्षिक उत्सव एवं अभिभावक भेला बिहीबार सम्पन्न भएको छ ।
सगरमाथा आधारभूत विद्यालयको १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथीका रूपमा सम्बोधन गर्दै शितगंगा न.पा. ९ का वडा अध्यक्ष भिम बहादुर केसीले विद्यार्थीको सिकाइमा अभिभावकको ठूलो भूमिका रहने बताएका छन् । समयको परिवर्तनसँगै शिक्षा क्षेत्रमा पनि परिवर्तन आएको बताउदै उनले भने “वर्तमान अवस्थामा सैद्धान्तिक शिक्षा भन्दा व्यावहारिक शिक्षामा विद्यालयले जोड दिनुपर्छ । किनकी भोलीको समाज निर्माण गर्ने जिम्मा आजका विद्यार्थीको हुनेछ ।“ व्यावहारिक शिक्षा अहिलेको आवश्यक रहेको भन्दै सबै अभिभावकलाई आफ्ना बच्चाको शिक्षा प्रति सचेत रहन अपिल गरे
विद्यार्थीको शैक्षिक क्षेत्रको विकासका लागि विद्यार्थी, शिक्षक र अभिभावकको त्रिपक्षीय सम्बन्ध हुनु आवश्यक रहेको समेत बताएका छन । साथै कार्यक्रमबाट उक्त विद्यालयले राखेको मागलाई सम्बोधन गर्दै आगामी वडाको योजनामा विद्यालयको खेल मैदान निर्माणका लागि १ लाख ५० हजार छुट्टाईने घोषणा गरेका छन् ।
कार्यक्रमका विशिष्ट अतिथीका रुपमा लिडर प्रअ गणेश बेल्बासेले एउटा बच्चाले आशातीत नतिजा नल्याउदा समस्याको कारण बच्चामा होईन उसका अभिभावकमा खोजिनु पर्नेमा जोड दिएका छ्न् ।
कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य दिदैं उनले भने, “सय जना शिक्षक भन्दा एक जना पिता ठुला र हजार जना पिता भन्दा एउटी आमा ठुली हुन्छिन् ।“ अभिभावकले आफ्ना बालबालिकालाई घरायसी जिम्मेवारी दिंदा फजुल समयको सदुपयोग गरी अनुशासित बनाउन सकिने बताए । बालबालिकालाई अनुशासित बनाऊन अभिभावकले विशेष ध्यान दिनु पर्नेमा जोड दिए । आफ्ना बालबालिकाको सरसफाई, आनिबानी सुधार, सु आहाराका विषयमा अभिभावकले विशेष ध्यान दिनु पर्नेमा अभिभावकको ध्यान आकर्षण गराएका दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुमान परियारको अध्यक्षता वडा सदस्य खुम बहादुर लुइचे, पवित्रा परियार, समाजसेवी घन बहादुर गाहाको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै वडा नं.९ अन्तर्गतका विद्यालयका अध्यक्ष तथा प्रअहरू, विभिन्न संघ संस्था तथा समूह लगायतका अतिथीको उपस्थीतिमा कार्यक्रम गरिएको हो । विद्यालयका प्रधानध्यापक शर्मिला पौडेलले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा रचना पौडेल, बाबुराम पाण्डे, टंक बहादुर परियार लगाएतले शुभकामना व्यक्त गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना समेत व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा वार्षिक उत्सवको पूर्व सन्ध्यामा आयोजित विभिन्न खेलकुद कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । अर्को तर्फ सहयोग गर्ने दाताहरूलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षक टंक बहादुर परियारले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक तुल्सा आर्चायले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन प्रअ शर्मिला पौडेलले गरेकी थिइन ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६ शुक्रबार ००:००  ७ : २१ बजे