मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको महाराजगञ्जमा शुक्रबार भएको ‘इजि ए वान क्वीज सिजन टु’ को उपाधि न्यू शिशु बोर्डिङ स्कूलले जितेको छ । प्रतियोगीतामा सरस्वती विद्या मन्दिर दोस्रो, भद्र माध्यमिक विद्यालय पडरिया तेस्रो स्थान आउन सफल भएको छ ।
नगरभित्र रहेका सबै सरकारी तथा नीजि विद्यालय सहभागी प्रतियोगीताको उद्घाटन गर्दै महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम मुसलमानले शिक्षाको विकास विना अरु विकास सम्भव नभएको धारणा राख्नुभयो । नगरपालिका भौतिक विकासमा पनि अरु भन्दा पछाडि रहेको भन्दै नगर प्रमुख कलामले शिक्षा क्षेत्रमा सोचेजति लगानी लगाउन नसकिएको बताउनुभयो ।
आफ्नो कार्यकालमा भौतिक विकास र शिक्षाको विकासमा आमूल परिवर्तन गर्न चाहेको उहाँले बताउनुभयो । सरकारी विद्यालयमा शिक्षक अभावले पढाई राम्रो संग नभएको गुनासो आएपछि नगरपालिकाले स्वमय्सेवी शिक्षक नियुक्त गरेको काम गरिरहेको बताउनुभयो ।
नगरभित्र ए वान मिडिया सेन्टरले हाजिरीजवाफ प्रतियोगीता सञ्चालन गरेर उदाहरणीय काम गरेको भन्दै विद्यार्थीलाई भरपूर फाइदा लिन आग्रह गर्नुभयो । सरकारी विद्यालयका विद्यार्थी नीजिका भन्दा पछाडि रहेको चर्चा गर्दै यस विषयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति गम्भिर बन्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिराम गुप्ताले शिक्षक र अभिभावक मात्र सक्रिय भएर विद्यार्थीको पढाईमा आमूल परिवर्तन नआउने भन्दै विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । राज्यले आफुसक्दो शिक्षामा लगानी लगाएको भन्दै सबै पक्ष जिम्मेवार भएर अगाडी जान सके सामुदायिक विद्यालयको शिक्षाले गुणस्तर फड्को मार्नेमा विश्वास व्यक्त गर्नुभयो ।
प्याब्सन कपिलवस्तुका अध्यक्ष तथा न्यू शिशु बोर्डिङ स्कूलका प्रिन्सिपल शिव प्रसाद गैरेले विद्यार्थी किताबी ज्ञानमा मात्र नभई अरु क्षेत्रमा पनि अब्बल हुनुपर्नेमा जोड दिनुभयो । ए वान मिडिया सेन्टरले लगातार दुई बर्ष जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगीता राखेर विद्यालय र विद्यार्थी बिच राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।
ए वान मिडिया सेन्टर कपिलवस्तुको आयोजना तथा महाराजगञ्ज नगरपालिकाको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा मिडिया सेन्टरका अध्यक्ष दिपक अनुरागी, बुरानिँया माविका राम प्रसाद चौधरी लगायतले बोल्नुभएको थियो । प्रतियोगीतामा प्रथम, दृतिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
जिल्लाका ६ वटै नगरपालिकामा प्रतियोगीता सम्पन्न गरि नगरबाट पहिलो हुने समूह जिल्लास्तरको उपाधिका लागि प्रतिष्प्रर्धा गर्नुपर्ने छ । न्यू शिशु बोर्डिङ स्कूलका अध्यक्ष श्याम सुन्दर चौधरीको अध्यक्षता, रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेको स्वागत मन्तव्य सम्पन्न भएको कार्यक्रममा मिडिया सेन्टरका प्रबन्ध निर्देशक दिपेन्द्र कार्कीको सञ्चालन रहेको थियो ।
क्यापिटल फुड्स प्रालिले मुख्य प्रायोजन गरेको प्रतियोगीताको फाइलन कार्यक्रम यसै महिनाको अन्तिम हप्ता हुने छ । अबका केही दिनमा कपिलवस्तु नगरपालिकामा नगरस्तरीय अन्तिम कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया