मायादेवी अनलाइन, वाणगंगा ।
प्रधानमन्त्री रोजगार कार्यक्रम कपिलवस्तुको वाणगंगा नगरपालिकाले सुरु गरेको छ । कार्यक्रम अन्तर्रगत नगरका २४ जना युवाले प्रत्यक्ष रोजगारी पाएका छन् । शुक्रबार नगरपालिकाको वडा नं. ८ ढोडेकोलमा एक कार्यक्रमको आयोजना गरि वडाका युवालाई एक महिनाका लागि रोजगारी प्रदान गरिएको हो ।
ती युवाहरु बालउद्यान निर्माणमा खट्नेछन् । दैनिक ५ सय १७ का दरले ज्याला पाउनेछन् भने मासिक १५ हजार ५ सय कमाई हुनेछ ।
चालु आवको अन्तिम समयमा आएको प्रधानमन्त्री स्वरोजगारको बजेट फ्रिज हुने चिन्ता बढीरहेका बेला वाणगंगाको वडा नं. ८ ले युवालाई रोजगारी दिएको हो ।
शुक्रबार एक कार्यक्रममा बीच नेकपाकी केन्द्रिय सदस्य विमला घिमिरेले बेरोजगार युवाहरु अब खाली बस्न नपर्ने घोषणा गर्नुभयो । सरकारले बेरोजगारका लागि रोजगारी दिएको भन्दै यसको भरपुर सदुपयोग गर्न युवाहरुलाई घिमिरेले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपाका नेता कृष्ण पौडेलले देशमा समृद्धिको युग सुरु भएको भन्दै युवालाई काममा खटिएर विकास निर्माण गर्न आग्रह गर्नुभयो । बढ्दो बेरोजगारीको कारण दैनिकरुपमा सयौं युवाहरु विदेश पलायन भैरहेको चर्चा गर्दै अब नेपालमै बसेर काम गर्ने वातावरण बनेको जिकिर गर्नुभयो ।
वडास्तरमा जिल्लामै पहिलो पटक प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको भन्दै यसले वेरोजगार युवाहरुको थप मनोबल बृद्धि गर्ने अपेक्षा व्यक्त गर्नुभयो । आगामी आवमा वडाका थुप्रै युवालाई रोजगारी दिने गरि काम गर्ने वडा अध्यक्ष भुसालले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया