८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

हावाहुरीपीडितको राहत र उद्धारमा जुट्न कांग्रेसको आग्रह



काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। कांग्रेसले शुक्रबार विज्ञप्ति निकालेर विपदमा परी घाइते भएकाहरुको आवश्यक उपचारको व्यवस्था मिलाउन र अकालमा जीवन गुमाएकाका परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न सरकारलाई आग्रह गरेको छ। कैलाली र कञ्चनपुरमा हावाहुरीका कारण दुईजनाको मृत्यु र एक सयभन्दा बढी व्यक्ति घाइते हुनुका साथै भौतिक संरचनामा क्षति र जनजीवन प्रभावित भएको छ। कैलाली र कञ्चनपुर हावाहुरीका कारण मानवीय एवं भौतिक क्षति भएको संवेदनशीलतालाई आत्मसात गरी कांग्रेसले ती दुई जिल्लामा राष्ट्रिय जागरण अभियानको पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको जनाएको छ। यसैगरी, राहत र उद्धारको कार्यमा रुपान्तरण गर्न जिल्लामा तोकिएका प्रतिनिधिलाई आग्रह गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कांग्रेसले भोलि जेठ २५ गते राष्ट्रिय जागरण अभियानको प्रथम चरणको समापन गर्ने तय गरेको थियो।

प्रकाशित मिति : २४ जेष्ठ २०७६ शुक्रबार ००:००  २ : ०७ बजे