८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बुवा बेपत्ता भएको ७० वर्षपछि छोराले काजकिरिया गरे



दाङ ।
दाङमा मान्छे हराएको ७० वर्षपछि काजकिरिया गरिएको छ । तुलसीपुर उप–महानगरपालिका–१८ का गेहेन्द्रबहादुर बस्नेत र उनकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको १३ दिनसम्म किरिया गर्न सुरु गरेका हुन् ।
बुबा मोतीलाल बस्नेत ३० वर्षको हुँदा विसं २००६ मा घरबाट भारत जान भनी निस्के पनि अझैसम्म नआएका उनले बताए ।
‘बुबा ३० वर्षको हुँदा घरबाट हराउनुभएको हो, त्यतिबेला म तीन वर्षको थिएँ रे, अहिले म ७३ वर्ष भइसकेँ’, उनले भने, ‘बुबा हराएको ७० वर्ष भइसक्यो, अहिलेसम्म नफर्केकाले काजकिरिया गर्न लागेका हौँ ।’ पुरोहितसँग सल्लाह गरेर यही जेठ २१ गतेदेखि किरिया गर्न शुरु गरेको र यही जेठ ३२ गतेसम्म किरिया गर्ने उनले बताए ।

बुबाको अहिले उमेर १ सय ३ वर्ष पुगिसकेको र अहिलेसम्म जीवित भएको कुनै थाहा नभएपछि पुरोहितसँग सल्लाह गरेर यसरी काजकिरिया गर्न थालेको उनले जानकारी दिए ।
पितृ रिसाउने र कूल बिग्रने धार्मिक मान्यता र संस्कार रहेकाले हिन्दु संस्कारअनुसार काजकिरिया गरिरहेको उनले बताए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६ शुक्रबार ००:००  ११ : ३२ बजे