मायादेवी अनलाइन, वाणगंगा ।
विहीबार मध्य रातमा आँधिहुरीले देशका विभिन्न स्थानमा क्षति पुर्याएको छ । चट्याङ सहित आएको आँधिहुरीले मध्यरातको जनजीवन त्रसित बनायो । आँधिहुरीले सुदुरपश्चिमको कैलाली, कञ्चनपुर जिल्लामा ठूलै भौतीक क्षति गरेको समाचारहरु आईरहेका छन् ।
आँधिहुरीले कपिलवस्तुका विभिन्न स्थानमा पनि सामान्य क्षति गरेको बताइएको छ । यद्यपि क्षतिको पूर्ण विवरण आउन सकेको छैन् । शुक्रबार विहान रेडियो मायादेवीको समय संवाद कार्यक्रममा बोल्दै जिल्लाका सरोकारवालाहरुले आँधिहुरीको बेग तीव्र भएको र जनजीवनलाई त्रासमा पारेको बताउनुभएको छ ।
कपिलवस्तु प्रहरीले जिल्लामा क्षतिको विवरण संकलनका लागि ३५ जनाको टोली खटाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक देवेन्द्र पाण्डेले मायादेवी अनलाइनलाई बताउनुभयो । विहान साढे ४ बजेबाट प्रहरीको टोली खटाएको र उनीहरुले विभिन्न स्थानमा बुज्ने प्रयास गरिरहेको पाण्डेले बताउनुभयो । यस्तै अहिले हावाहुरीको समय भएकोले सचेतना अपनाउन जिल्लाबासीलाई उहाँले आग्रह गर्नुभएको छ ।
शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले आफ्नो नगरमा कुनै क्षतिको विवरण नआएको बताउनुभयो । नगरमा विपत व्यवस्थापन समिति गठन भएको भन्दै कुनै क्षति पुगेको भए नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । हावाहुँरीको गति तीव्र भएको भएपनि ठूलो क्षति नभएको र केही फुसका घरहरुको छाना उठाएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो । त्यसको संकलन गर्नका लागि विहानै देखि प्रहरी प्रशासनसंग मिलेर काम गर्ने बताउनुभयो ।
वाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्रपाणी अर्यालले वाणगंगामा आँधिहुरीले कुनै क्षति नगरेको बताउनुभएकोछ । आफु नगर बाहिर भएको भन्दै क्षतिको बारेमा बुज्ने प्रयार गरिरहेको बताउनुभयो ।
विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले गाउँपालिका भित्र आँधिहुरीले कुनै क्षति नगरेको बताउनुभयो । विहानै आफुले सबै वडाअध्यक्षलाई फोन गरेर बुझेको भन्दै आफुले अझै बुज्ने बताउनुभयो । केही व्यक्तीका फुसका छाना उठाएको हुन सक्ने भन्दै त्यस्तो भए गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । विपत व्यवस्थापनका लागि गाउँपालिकाले दीर्घकालिन योजना बनाएर अगाडी बढ्ने बताउनुभयो ।
यता आँधिहुरीले जिल्लामा विद्युतीय उपकरणमा क्षति गरेको छ । जिल्लामा राती देखिनै विजुली छैन् । ठाउँ ठाँउमा विजुलीका पोलहरु ढलेको कारण विद्युृत आपूर्तीमा समस्या आएको जिल्ला स्थित प्राधिकरणका कर्मचारीहरु बताउँछन् । यस्तै आँधिहुरीले टेलिफोन, इन्टरनेटमा पनि क्षति गरेको छ ।
सुन्नुहोस रेडियो अन्तरवार्ता
प्रतिक्रिया