८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

विश्वकप क्रिकेटः भारतको विजयी सुरुवात, दक्षिण अफ्रिका लगातार पराजित



एजेन्सी ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको छ । योसँगै दक्षिण अफ्रिकाले लगातार तेस्रो हार व्यहोरेको छ ।
दक्षिण अफ्रिकाले दिएको २२८ रनको विजयी लक्ष्य भारतले ४७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो ।
भारतका लागि रोहित शर्माले शतक प्रहार गरे । रोहितले नटआउट रहँदै १२२ रनको योगदान दिए । १४४ बल सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरे । यस्तै ३४ बल खेलेका कप्तान विराट कोहली १८ रनमा आउट हुँदा महेन्द्रसिंह धोनीले ३४ रन बनाए । त्यस्तै केएल राहुलले २६ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले २ विकेट लिए । त्यस्तै क्रिस मोरिस र एन्डिल फेलुकवायोले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाउँदै २२७ रन बनाएको थियो ।
१५८ रन बनाउँदा सात विकेट गुमाएको दक्षिण अफ्रिकालाई क्रिस मोरिस र कागिसो रबाडाको ६६ रनको साझेदारीले माथि उठाएको हो । क्रिस मोरिसले सर्वा्धिक ४२ रन बनाउँदा रबाडा ३१ रनमा नट आउट रहे । कप्तान फाफ डु प्लेसिस ४२ रनमा आउट हुँदा फेलुकवायोले ३८ रन जोडेका थिए ।
बलिङतर्फ भारतका लागि युजबेन्द्र चाहलले सर्वा्धिक ४ विकेट लिँदा भुवनेश्वर कुमार र जसप्रित बुमराहले दुई दुई विकेट लिए ।
यता गएराती नै सम्पन्न दोस्रो खेलमा न्यूजिल्याण्डले बंगालादेशलाई २ विकेटले हराएको छ । ४९ दशमलव २ ओभर खेल्दै बंगलादेशले न्यूजिल्याण्डलाई २ सय ४४ रनको मध्यम लक्ष्य दिएको थियो । तर, न्यूजिल्याण्डले ४७ दशमलव १ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६ बिहिबार ००:००  ६ : ०४ बजे