रचना खासु मगर, तौलिहवा ।
कपिलवस्तुका बिभिन्न मस्जिदहरुमा मुस्लिम महिलाहरुले ईद उल फित्र ईदमा बुधवार सामुहिक नवाज पढेका छन् । एक महिने रमजानको रोजा सकेर उनीहरुले सदरमुकाम तौलिहवामा रहेका दुई छुट्टा छुट्टै मस्जिद, अभिराव, नन्दनगर, कृष्णनगर लगायतका जिल्लाका बिभिन्न वडामा रहेका मस्जिदहरुमा बिशेष नवाज पाठ गरेका हुन् ।
यसै क्रममा कपिलवस्तु नगरपालिका– १ नयाँटोलकी नजमुन निशाले बुधवार बिहान आफन्तसंगै छोटकी तौलिहवास्थित ईमाम अकहमद बिन हम्बल मस्जिदमा पुगेर बिशेष नवाज पढिन् । रमजान महिनामा बस्ने एक महिने रोजाकाक्रममा घरमै पाच पटक नवाज समेत पढ्ने गरेकी उनले परिवारका अन्य सदस्यहरुसंगै बिहानै त्यहाँ पुगेकी थिईन् । बुर्का लगाएर गएकी उनले मस्जिदमा रहेका महिलाहरुसंगै एक घण्टा सम्म पाठ गरिन् । आफुले हरेक बर्षको ईदमा परिवारका अन्य सदस्यहरुसंगै मस्जिदमा नवाज पढ्ने गरेको मस्जिदबाट घर फकिर्नेक्रममा उनले संचारकर्मीलाई बताईन । ‘ईदका अवसरमा घर परिवार र आफन्तसंगै मस्जिदमा सामुहिक नवाज पढदा खुशी लाग्छ,’ उनले भनिन् ‘त्यसरी नवाज पढ्दा छुट्टै आनन्द मिल्छ, यसबाट अल्लाहबाट धेरै बरकत समेत पाईन्छ जस्तो महसुल हुुन्छ । ’
यस्तै बिहान ८ बजे देखि सामुहिक नवाज पढ्ने कार्यक्रम भए पनि एक घण्टा अघि नै कपिलवस्तु नगरपालिका तिलौराकोटकी साकिरा खातुुन छोटकी तौलिहवाको मस्जिदमा पुगेकी थिईन् । आफन्तसंगै त्यँहा पुगेर सामुहिक नवाज पाठ गरेकी उनले पनि आफुलाई ईदका दिन त्यसरी मस्जिदमा पाठ गर्न पाउँदा निकै खुशी लाग्ने गरेको बताईन । ‘साच्चिकै ईदका दिन मस्जिदमा सामुहिक पाठ गर्दा धेरै रमाईलो लाग्छ ।’ त्यहाँको मस्जिदमा ३ सय बढी महिलाहरुले सामुहिक पाठ नवाज पढेका थिए । छोटकी तौलिहवाको मस्जिदमा पुरुष र महिला दुबैले सामुहिक पाठ गरेका थिए । त्यसका लागि मस्जिदमा रहेको कोठाको बिच भागमा पर्दा लगाईएको थियो ।
एकतिर पुरुषहरु र अर्कातिर महिलाहरु बसेर सामुहिक पाठ गरेका थिए । अहिले हदिफ समुदायका महिलाहरुले मस्जिदमा सामुहिक प्रार्थना गर्न पाउने कृष्णनगरका मौलाना मसहुद खाँ नेपालीले बताए । हदिफ समुदायका महिलाहरुलाई रमजानमा पुरुष सरह रोजा बस्ने र ईदगाहा वा मस्जिदमा सामुहिक नवाज पढ्ने अधिकार रहेको उनले बताए ।
कृष्णनगर, भैसकुण्डा, नन्दनगर, अभिराव लगायतका ईदगाहामा समेत महिलाहरुले सामुहिक नवाज पाठ गरेका थिए । तर अहिले सुन्नत समुदायका पुरुषहरुले मात्र ईदगाहामा सामुहिक नवाज पाठ गरेका थिए । उता मुस्लिमहरुको महान पर्व ईद उल फित्र ईदका दिन बुधवार जिल्लाका बिभिन्न स्थानमा रहेका ईदगाहा र मस्जिदमा सामुहिक नवाज पाठ गरी हर्षोउल्लासका साथ ईद मनाईएको छ । उनीहरुले एक आपसमा शुभकामना आदानप्रदा गर्दै ईद पर्व भब्य रुपमा मनाएका हुन् ।
सो अवसरमा उनीहरुले देशमा शान्ति सुरक्षा, अमनचयनको कामना गरेका थिए । कपिलवस्तु नगरपालिका– १ बसपार्क छेउ रहेको ईदगाहमा सामुहिक नवजा पढेर बाहिर आउनेक्रममा नुरम महोम्मद खालिद खाले आफुहरुले सामुहिक नवाज पाठ गरे पछि नेपालको शान्ति, स्थिरता र आर्थिक विकासको कामना गरेको बताए । ‘ यो महान पर्वमा सबैले मिलेर खुशीयाली बाड्न चाहन्छौ, देशभर नै राम्रो भएको हेर्न् चाहेका छौ उनले भने ।
खुशीयालीको पर्व ईद मुसलमान समुदायले एक महिनासम्म गरिने रमजान पर्वको उपवास सकेको भोलिपल्ट यो चाड मनाउने गर्छन । इदको अर्थ खुसियाली हो र रमजान सम्पन्न भएको उपलक्ष्यमा खुसियाली मनाइएकाले यस चाडलाई इदुल फित्र भन्ने गरिएको हो । ईदको उपलक्ष्यमा विपन्न, अशक्त, टुहुरा र असहाय व्यक्तिलाई दान दिएर यस चाडको खुसियालीमा सरीक हुन सहयोग पनि गर्ने चलन छ ।
अरबी पात्रोअनुसार एक महिनासम्म उपवास बसेपछि महिनाको अन्तमा चन्द्रमाको दर्शन गरेपछि रमजान पर्व सम्पन्न हुन्छ र भोलिपल्ट इद पर्व मनाउने परम्परा छ । उक्त दिन राति देखिने चन्द्रमालाई इदका चाँद भन्ने गरिन्छ । एक महिना पुरा भएपनि चन्द्रमाको दर्शन नगरेसम्म पर्व जारी रहने नियम छ । इस्लाम धर्मालम्बी यस दिन नयाँ लुगा लगाउने, आफन्तलाई भेट्ने, उपहार आदानप्रदान गर्ने र मीठो खाना खाने गर्छन ।
रमजान पर्व सुरु भएपछि पर्व मनाउनेले दिनभरि उपवास बस्ने गर्छन । मुस्लिम धर्मालम्बीले यस पर्वभरि कम बोल्ने, झुटो नबोल्ने, अर्कासँग इष्र्या नगर्ने, लोभ नगर्ने, अरुको हानि नपुर्याउने, कुरान पढ्ने गर्छन । रमजान महिनालाई तीन भागमा विभाजन गरिएको छ । पर्वको तेस्रो भागलाई महत्वर्पूण स्थान दिइएको छ । पर्वको तेस्रो भाग अर्थात १० दिनसम्म समाजका कुनै एक व्यक्ति नजिकको मस्जिदमा लगातार १० दिनसम्म बस्छन् । मस्जिदबाट बाहिर नित्य कर्म बाहेक बाहिर निस्कन पाउँदैनन ।
समाजमा आउन सक्ने कुनै विपत्तिलाई समाप्त पार्न धार्मिक र मानवताको उद्देश्यसाथ मस्जिदमा पाठ गर्ने गरिएको हो । ईदगाहामा सामुहिक पाठ गरे पछि मृतकहरुको सम्झनामा करबलामा गएर समेत नवाज पढने चलन छ । यस अवसरमा समाजका गरिब मुसलमानलाई दान पनि दिइन्छ, जसलाई ‘फित्र’ भनिन्छ ।
आफ्नो परिवारको सदस्यको गच्छसार घरका मूलीले प्रति व्यक्ति २ किलो ४५ ग्राम गहुँ वा सो बराबरको नगद वा अन्य सामान गरिब मुसलमानलाई दान गर्नुपर्ने नियम रहेको मौलाना मिर्जा अन्सारीले बताए । इस्लाम धर्मको मुख्य पाँच स्तम्भमा हज, जकात, नमाज, कुरबानी र रमजान पर्छ । पाँच स्तम्भमध्ये एक रमजान पनि भएको विश्वास गरिएकाले धार्मिक नियम निष्ठाका साथ यो पर्व मनाउने गरिन्छ । रमजान महिना भरी महिनामा धर्मालम्बीले दिनको पाँच पटक नमाज पढने चलन छ ।
२२ जेष्ठ २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया