काठमाडौं ।
ईदको अवसर पारेर बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ बुधवार नै रिलिज भएको छ । नेपाली चलचित्र प्रायस् शुक्रवार प्रदर्शन गरिने परम्परा रहे पनि विदेशी चलचित्र भने चाडबाडमा शुक्रवारभन्दा अघि नै प्रदर्शन हुने गरेका छन् ।
दुई दिनअघि प्रदर्शन हुँदा सलमान खानको फिल्म ‘भारत’ ले नेपालमा पनि उच्च शो पाएको छ । मल्टिप्लेक्स हलमा फिल्मले अन्य फिल्मको तुलनामा बढी शो पाएको छ । फिल्मले मंगलवार नै अग्रिम बूकिङ खुलाएको थियो ।
शुरुमा ‘भारत’ चलचित्र विकास बोर्डको अडानका कारण शुक्रवार नै रिलिज हुने भनिए पनि फिल्मका नेपाल वितरकले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएका थिए । मुद्दाको सुनुवाइ गर्दै अदालतले यो फिल्मलाई बुधवार रिलिज गर्न अन्तरिम आदेश दिएको थियो । कतिपयले विदेशी फिल्म शुक्रवारभन्दा पहिले नै हलमा रिलिज हुँदा नेपाली फिल्मकर्मी मारमा परेको भन्दै गुनासो गरेका छन् ।
सलमान खानको फिल्म ‘भारत’ भारतमा ४ हजार स्किृनमा लागिरहेको छ । नेपालमा पनि यो फिल्मले राम्रो चर्चा कमाएको छ । फिल्ममा सलमान खानका अलावा, क्याटरीना कैफ, दिशा पटानी, सुनील ग्रोबर लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । यो फिल्मले भारत र पाकिस्तानको सम्बन्धलाई देखाएको छ ।
प्रतिक्रिया