८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

विश्वकप क्रिकेटमा भारत पहिलो खेल खेल्दै, दक्षिण अफ्रिका दबाबमा



काठमाडौं ।
विश्वकप क्रिकेट प्रतियोगितामा आज उपाधिको दाबेदार मानिएको भारत र दक्षिण अफ्रिकाबीचमा प्रतिस्पर्धा हुँदैछ ।
इंग्ल्यान्डको साउथह्याम्पटनमा भारत र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समयानुसार दिउँसो तीन बजेर १५ मिनेटमा सुरु हुनेछ । जारी विश्वकपमा भारतको यो पहिलो खेल हो भने दक्षिण अफ्रिकाको यो तेस्रो खेल हुनेछ ।
पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको दक्षिण अफ्रिका निकै संकटमा देखिएको छ । आजको खेलमा पनि दक्षिण अफ्रिका पराजित भएमा उसको विश्वकप यात्रा निकै कठिन हुनेछ ।
यता, भारत भने आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्न चाहन्छ । कमजोर देखिएको दक्षिण अफ्रिकाविरुद्ध स्पष्ट जित हात पार्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा भारत छ । तर भारतलाई पराजित गर्दै पहिलो जित हात पार्ने दाउँमा दक्षिण अफ्रिका छ ।
बंगलादेशले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै
यता विश्वकप क्रिकेटअन्तर्गत आज बंगलादेशले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । लण्डनमा आज बेलुकी नेपाली समयानुसार ६ बजेर १५ मिनेटमा बंगलादेशले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टिमले आ–आफ्नो पहिलो खेलमा जित हात पारेका छन् । न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि १० विकेटको जित हात पारेको थियो ।
यता, बंगलादेशले पनि आफ्नो पहिलो खेलमा बलियो टिम दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको थियो । आफ्नो पहिलो खेलमै ठूलो टिमलाई पराजित गरेको बंगलादेश आजको खेलमा न्युजिल्यान्डविरुद्ध उच्च मनोबलको साथमा मैदानमा उत्रिँदैछ ।
न्युजिल्यान्ड जारी विश्वकपको उपाधि दाबेदार राष्ट्रहरूमध्ये एक हो । आजको खेलमा जित हात पार्दै विश्वकप यात्रालाई झनै सजिलो बनाउने लक्ष्यमा न्युजिल्यान्ड रहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६ बुधबार ००:००  ९ : ०२ बजे