मायादेवी अनलाइन, कपिलवस्तु ।
इस्लाम धर्मावलम्बीहरुले बुधबार इद उल फित्र विशेष रूपमा मनाउँदैछन् । इद उल फित्र कै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलगायत अन्य दलका नेताहरुले शुभकामना दिएका छन् ।
यसैबीच सरकारले इस्लाम समुदायको पर्व इदको अवसरमा बुधबार सार्वजनिक बिदासमेत दिएको छ । गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारले यसअघि बिहीबार इद उल फित्र पर्ने भन्दै २३ गतेका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर इद उल फित्र बुधबार नै पर्ने भएपछि सरकारले निर्णय सच्चाउँदै बुधबारका लागि बिदा दिने निर्णय गरेको हो । यसअघि प्रदेश २ ले पनि बुधबार प्रदेशभर सार्वजनिक बिदाको घोषणा गरेको थियो ।
यसैबीच मदरसा शिक्षा परिषद् नेपालका केन्द्रिय सदस्य मौलना मशसुद खाँ नेपालीले इद उल फित्र सबैको साझा पर्व भएको बताउनु भएको छ । बुधबार विहान रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समय संवादसंग कुरा गर्दै उहाँले इद उल फित्र जुनसुकै धर्म समुदायले मनाउन सक्ने जिकिर गर्नुभयो ।
‘इद उल फित्र’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्ने बताउँदै उहाँले चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्वपूर्ण भएको बताउनु भयो । बुधबार इस्लामिक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबैजनाले चन्द्रमा हेर्ने गर्छन उहाँले भन्नुभयो– “जब अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ तब मात्र रमजान महिनाको कठिन व्रतको समापन हुन्छ र ईद उल फित्र पर्व हुन्छ ।”
आज गरिबहरुलाई विशेष दान गरिने भएकाले यो पर्व गरिबी उन्मूक्तिको पर्व भएको पनि उहाँले बताउनु भयो । २९ दिन निराहार उपबास बसेकाले आज गरिबहरुलाई बिभिन्न कुराहरु दान गरिन्छ । यो एउटा उत्साह, जीत र समानताको चाड भएकाले परिवार र समूदायका हरेक व्यक्ति धनी, गरीबहरूको मुहारमा मुस्कान र सदाचार ल्याउन यो पर्व महत्वपूर्ण भएको उहाँले बताउनु भयो ।
नेपालमा मनाइने सबै जात र धर्मले सबै समुदायलाई जोड्ने भएको हुँदा धर्मको नाममा कुनै हिँसा गर्न नहुने उहाँले बताउनु भयो ।
सुन्नुहोस अडियो
प्रतिक्रिया