८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गाडीबाट फोहर फाल्दै हुनुहुन्छ ? अब होसियार बन्नु, नत्र …!



बुटवल ।
प्रदेश ५ सरकारल सबै प्रकारका सवारी साधनबाट सार्वजनिक सडकमा यात्रा गर्दा फोहर फाल्न पूर्णरुपमा निषेध गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश भित्र सञ्चालन हुने सवारी साधनमा अनिवार्य डस्टिबिन राख्न लगाएपछि अब फोहर सवारीबाट बाहिर फाल्न नपाइने भएको हो ।
यहि जेठ १५ गते गणतन्त्र दिवसबाट लागु हुने गरी प्रदेशका १२ जिल्लामा सवारी साधनबाट फोहर फाल्न, शौचालय नभएको ठाउँमा गाडी रोकेर दिसा पिसाब गराउन निषेध गरेको छ । सवारी साधन भित्र अनिवार्य डस्टविनको व्यवस्था गर्न र सार्वजनिक शौचालय, शौचालय भएका होटल तथा पेट्रोल पम्प, रिफ्रेस सेन्टरमा सवारी साधन रोकेर दिसा पिसाब गराउने व्यवस्थापन मिलाउन अनुरोधसहितको सार्वजनिक सूचना जारी गरिएको छ ।
प्रायजसो यात्रुहरुले पानीको खाली बोत्तल, चाउचाउ, बिस्कुट, चकलेटका खोल लगायतका फोहर सोझै सडकमा फाल्ने गर्दछन् । जसले गर्दा राजमार्ग फोहर मार्ग जस्तै बनेको छ । अब यात्रा गर्दा फोहोर गर्ने र जथाभावी फोहर फाल्ने व्यक्तिलाई ट्राफिक प्रहरीले निगरानी गर्ने भएको ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख बिष्णुबहादुर केसीले बताउनु भयो । यात्रुले पनि यात्रा गर्दा आफ्नो कारणले निस्केका फोहर डस्टिविनमा संकलन गर्नुपर्छ’ केसीले यात्रुलाई चालक र सहचालकले डस्टिविनमा फोहर फाल्ने बारे अनिवार्य जानकारी दिनुपर्ने बताउनु भयो ।
सवारी साधनको झ्याल तथा ढोकाबाट कुनै पनि बस्तु सडकमा फाल्न पाइने छैन । सवारी साधन रोकी पानी, प्लास्टिक लगायत फोहर जन्य पदार्थ सडक किनारामा फाल्न निषेध गरिएको छ । जंगल वा खुल्ला ठाउँमा सवारी साधन रोकी दिसा पिसाब गर्न निषेध गरिएको छ ।
सवारी साधन भित्र फोहर संकलन गर्ने डस्टविन अनिवार्य रुपमा राख्ने र त्यो डस्टविनमा जम्मा हुने फोहरको व्यवस्थापन सवारी साधनका प्रतिनिधिले गर्नुपर्ने छ । नियम पालना नगर्ने सवारी साधनका व्यवस्थापक, चालक वा परिचालकलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित स्थानिय तहबाट कारबाही गरिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६ मंगलबार ००:००  ८ : ०१ बजे