८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

तिलोत्तमामा भू–उपयोग मापदण्ड बन्यो



रूपन्देही ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषियोग्य र आवासीय क्षेत्र निर्धारण गरी भूउपयोग मापदण्ड बनाएको छ ।
कृषि, वन, नापी, तथा सरोकारवालाको प्रतिनिधित्व रहेको जग्गा उपयोगिता विश्लेषण प्राविधिक समितिको सिफारिशको आधारमा भू–उपयोग मापदण्ड जारी गरेको हो । नगर प्रमुख वासुदेव घिमिरेले संघीय सरकारले कित्ताकाटका लागि कृषियोग्य जग्गा यकिन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएअनुसार मापदण्ड तयार गरिएको बताउनुभयो ।
त्यसमा स्थानीय तहले कृषियोग्य जग्गा नभएको पुष्टि गरे मात्र जग्गा विकासका लागि कित्ताकाट गर्न सकिने व्यवस्था छ । अंशबन्डाबाहेक अन्य अवस्थामा एक आर्थिक वर्षमा कृषियोग्य जग्गा एकपटक मात्र कित्ताकाट गर्न पाइने छ ।
२०७४ साउन २६ गतेबाट रोकिएको खेतीयोग्य जग्गाको कित्ताकाट २०७५ पुस २७ गते ‘स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिश गरेपछि’ भन्ने शर्त राखेर खुला गरिएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६ मंगलबार ००:००  ९ : १६ बजे