८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा प्रधानमन्त्रीको सन्देश



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा मंगलबार एक शुभकामना सन्देश दिँदै उहाँले वर्तमान सरकार सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लागेको बताउनुभयो ।
सरकार शताब्दीऔँसम्म विभेद र अन्यायको शिकार भएका दलित समुदायलाई शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अगाडि बढाउन तल्लीन रहेको सन्देशमा उल्लेख छ । विगतमा पाखा पारिएकाहरूलाई राज्यको मूलप्रवाहमा समाहित गराइरहेको सन्देशमा उल्लेख छ ।
आजको एक्काइसौँ शताब्दीमा पनि सामन्तवादको अवशेषका रूपमा रहेको मानव–मानवबीच गरिने जातीय भेदभाव र छुवाछूतको दुर्व्यवहारप्रति कुनै सहिष्णुता नदर्शाइने उहाँको भनाइ छ । ‘समानता, सद्भाव र सबैको मानवअधिकारको पूर्ण रक्षाका लागि सरकार दृढ छ’, सन्देशमा भनिएको छ ।
प्रधानमन्त्री ओलीले सन्देशमा राज्यका हरेक अङ्ग र निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार दलित समुदायको प्रतिनिधित्व गराइने संवैधानिक व्यवस्था रहेको स्मरण गर्नुभएको छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट दलित समुदायका कम्तीमा एक–एक जना र स्थानीय तहको वडास्तरमा दलित महिलाको अनिवार्य प्रतिनिधित्वलाई कानूनी रूपमा सुनिश्चित गरिएको बताइएको छ ।
नेपालले जातीय भेदभाव तथा छुवाछूतको अन्त्यका लागि अन्तर्रा्ष्ट्रिय रूपमा पनि ठोस प्रतिबद्धता जनाएको सन्देशमा भनिएको छ । प्रधानमन्त्री ओलीले यस दिवसले जातीय विभेद र छुवाछूतको दुर्व्यवहारलाई रत्तिभर नसहन तथा हरेक नेपाली नागरिकलाई उत्प्रेरित गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६ मंगलबार ००:००  ८ : ४१ बजे