८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सरकारले संविधानसम्मत ढंगले बजेट ल्याएको छः पौडेल



काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले संविधानसम्मत ढंगले बजेट ल्याएको स्पष्ट पारेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संविधानको भावना विपरित बजेट आएको टिप्पणी गरिरहेका बेला महासचिव पौडेलले संविधानद्धारा निर्देशित भएरै बजेट आएको प्रष्टयाएका हुन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले बजेटमा उल्लेख गरिएको सामाजिक सुरक्षा भत्ता बढाउने प्रावधान बेठिक हो भनेर उभिन पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई चुनौती दिए । लोककल्याणकारी राज्यको अवधारणाअनुसार सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने काम गरेकोमा समर्थन गर्नु पर्नेमा विरोध गरिएकोमा उनको आपत्ति छ ।

महासचिव पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गरिव र पिछडिएका क्षेत्रको पक्षमा दृढतापूर्वक उभिएको दावी पनि गरे । उनले बजेटले राष्ट्रिय गौरवका आयोजनाहरुलाई उच्च प्राथमिकता दिएर मुलुकको उच्च आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको पनि बताए ।
महासचिव पौडेलले बजेट कार्यान्वयन हुने गरी आएको दावी पनि गरे । बजेटले उर्जा क्षेत्रको विकासमा पनि विशेष जोड दिएको उनको दावी छ । महासचिव पौडेलले बजेट सबै क्षेत्रको विकास हुने गरी सन्तुलित ढंगले आएको पनि बताए ।

प्रकाशित मिति : २० जेष्ठ २०७६ सोमबार ००:००  २ : ५३ बजे