८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण गर्ने विप्लव समूहको प्रयास असफल



सोलुखुम्बु ।
विप्लव समूहका कार्यकर्ताबाट सोलुखुम्बुको एक प्रहरी चौकी कब्जाको प्रयास गरेका छन् ।
आइतबार राति विप्लवका कार्यकर्ताले महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्न गरेको प्रयास गरेको हो ।
राति १२ बजेको समयमा २५–३० जना विप्लव माओबादी कार्यकर्ता चौकी कव्जा गर्ने नियतले पुगेको भएपनि त्यसअघि नै प्रहरी हतियारसहित हिँडेकाले उनीहरु त्यसै फर्केको बताइएको छ ।
तर, नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले प्रहरी चौकी कब्जाको कुनै प्रयास नभएको दावी गरे । पोखरेलले भने, ‘त्यस्तो केही होइन ।’ उनले थपकेही बताउन चाहेनन् ।तर, स्थानीयले विप्लवका कार्यकर्ता कब्जाको लागि आउदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएको बताएका छन् ।

सोलुखुम्बु जिल्लाका पत्रकार तथा हिमाल एफएमका स्टेशन मेनेजर भानुभक्त निरौलाले विप्लवका कार्याकर्ताले चौकी कव्जको प्रयास गरेको तर असफल भएको बताए । ‘तर स्थानीय प्रशासनले यो कुरा स्वीकार गर्न चाहेको छैन’ उनले बताए ।
यद्यपी यही विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले सोमबार सुरक्षा समितिको बैठक बोलाएको बताइएको छ ।
यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले छेस्काममा विप्लव समूहको गतिविधि बढेकाले जिल्लाबाट थप टोली पठाइएको बताएको छ । यद्यपि गएराती विप्लवका कार्यकर्ताले चौकीमै आक्रमण भने नगरेको जिप्रकाको दाबी छ । अहिले छेस्काममा इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयले जनायो ।

महाकुलुङ क्षेत्रमा केहि दिन देखि विद्युतका कारण नेपाल टेलिकमद्धारा वितरित सञ्चार सेवा अबरुद्ध भएको बताइएको छ । यही मौका छोपेर कब्जाको प्रयास गरिएको हुनसक्ने स्थानीय बताउँछन् ।
विप्लव समुहले आफुहरुको चौकी कव्जा र सुरक्षाकर्मीमाथि आक्रमणको निति नभएको पटकपटक बताउदै आएको छ ।

घटनास्थल जिल्ला सदरमुकाम सल्लेरीदेखि करिब २५ कोश टाढा पर्छ । तर, प्रहरी प्रवक्ता पोखरेलले प्रहरीको सर्च अभियान जारी रहेकाले त्यही अन्र्तगत सोमबार सोलुखुम्बुमा सुरक्षाकर्मीको टोली सोलुखुम्बु पुगेको बताए ।

यसैबीच गृह प्रवक्ता रामकृष्ण सुवेदीले आफूलाई त्यसबारे कुनै जानकारी नआएको भन्दै प्रहरी प्रवक्तालाई सोध्न भन्दै पन्छिए ।रातोपाटीबाट

प्रकाशित मिति : २० जेष्ठ २०७६ सोमबार ००:००  २ : ४८ बजे