८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

शिक्षिकाको कुटाइबाट १४ विद्यार्थी घाइते



रोल्पा ।
रोल्पाको रुन्टीगढी गाउँपालिकामा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिकाको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । गाउँपालिकाको ८ नम्बर वडामा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट कक्षा १ देखि ८ सम्म पढ्ने १४ जना विद्यार्थी घाइते भएका हुन् ।
उनीहरूमध्ये पाँच जनाको दाङको तुलसीपुरमा रहेको सहारा पोलिक्लिनिकमा उपचार भइरहेको छ भने अन्य ९ जना विद्यार्थीको भने स्थानीय मेडिकलमा उपचार गरिएको छ ।
घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हातमा गम्भीर चोट लागेकाले प्लास्टर गरिएको छ । शिक्षिकाको कुटाइबाट कक्षा ३ मा पढ्ने नरबहादुर घर्तीको कानको जाली फुटेर सुन्न छोडेको अभिभावक प्रताप घर्तीले बताउनुभयो ।
विद्यालयमा ढिलोगरी आएको भन्दै आफूहरू लाइन लागेको बेला शिक्षिक पुनले अन्धाधुन्ध लठ्ठी प्रहार गरेको पीडित विद्यार्थीहरुको भनाई छ । शिक्षिकाले कुटपिट गर्दा आफूहरु रोइकराई गरेको भए पनि अन्य शिक्षकशिक्षिकाहरु छुट्याउन नआई हेरेर बसेको विद्यार्थीहरु बताउँछन् ।
घटना जेठ १२ गते भएको भए पनि वडाध्यक्ष भीमबहादुर घर्तीको रोहबारमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र भएका कारण एक हप्तापछि मात्र बाहिर आएको हो ।
पीडित पक्षले इलाका प्रहरी कार्यालय होलेरीमा जेठ १९ गते उजुरी दिएपछि घटना बाहिर आएको हो । विद्यार्थीको अवस्था गम्भीर बन्न थालेपछि उपचारमा पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताउनुभयो ।

प्रकाशित मिति : २० जेष्ठ २०७६ सोमबार ००:००  १ : ५८ बजे