मायादेवी अनलाइन, वाणगंगा ।
गर्मी अत्याधिक बढेपछि कपिलवस्तुका अधिकांश विद्यालय बन्द भएका छन् । अत्याधिक तापक्रम बढेपछि वाणगंगा नगरपालिकाले एक सुचना जारी गरेर एक हप्ताका लागि विद्यालय बन्द गर्ने जनाएको छ ।
अधिकांश सामुदायिक विद्यालयमा टिनको छाना भएको र कक्षाकोठामा पंखा समेत नभएका कारण चर्को गर्मीमा विद्यार्थीलाई पढ्न सास्ती थियो । अभिभावक स्तरबाट गर्मीमा विद्यालय बन्द गर्ने माग भई आएकोले एक हप्ताका लागि विद्यालय बन्द गरिएको वाणगंगा शिक्षा तथा खेलकुद शाखाका अधिकृत खिम बहादुर जिसीले जानकारी दिनुभयो ।
जेठ १२ गते आइतबार देखि १७ गते शुक्रबार सम्म नगरका सबै विद्यालय बन्द गरिएको शाखाले जनाएको छ । जिल्लाको तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेको छ । वाणगंगा नगरपालिकामा सरकारी तथा नीजि गरी ७२ विद्यालय छन् । विद्यालयको माग भए अनुसार शैक्षिक क्यालेण्डर अनुसार विद्यालय बन्द गरिएको शिक्षा अधिकृत जिसीले बताउनुभयो ।
जिल्लाका अधिकांश विद्यालय विहानमा सञ्चालन हुँदै आएका छन् । यद्यपि राजमार्ग क्षेत्रमा भने दिउँसो नै विद्यालय सञ्चालन हुने गरेका छन । दिन प्रतिदिन बढ्दै गएकाले गर्मीले विद्यार्थीहरु कक्षाकोठामै बेहोस हुन थालेका छन ।
गर्मीका कारण सदरमुकाम तौलिहवा र सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत न्यून देखिएको छ । गर्मीबाट सर्वसाधारणलाई जोगाउन अपनाउन सक्ने सतर्कताका बारेमा स्थानीय तहले सचेतना सम्बन्धि जानकारी दिन थालेका छन ।
प्रतिक्रिया