मायादेवी अनलाइन, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ९ स्थीत पाँकुरी आधारभूत विद्यालयको ३७ औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ९ का वडा अध्यक्ष भिम बहादुर केसीले वडाको आगामी योजनामा शिक्षा क्षेत्रमा पच्चिस प्रतिशत रकम लगानी गर्ने घोषणा गर्नु भएको छ । कार्यक्रममा बोल्दै केसीले शिक्षा क्षेत्रमा जनमुखी नीति निर्माण गर्दै शिक्षाको विकासमा विशेष प्राथमिकताका साथ अगाडी बढ्ने बताउनु भएको हो ।
वडामा शिक्षाको विकासका लागी आफुले महत्वपुर्ण भुमिका निर्वाह गदै आएको बताउदै जनअपेक्षा अनुसारको शैक्षिक योजना र कार्यक्रम बनाई वडामा प्रस्तुत गर्न पाँकुरी लिडर विद्यालयलाई निर्देशन समेत दिनुभएको छ ।
विशेष गरी नगरबाट पाँकुरी विद्यालयलाई प्राप्त शिक्षक दरबन्दी रिक्त रहंदा पठन पाठनमा देखिएको समस्या समाधानका लागि आफू गम्भिर भएर लाग्ने आश्वासन दिनुभयो । त्यस्तै कार्यक्रममा विद्यालयले राखेका मागहरूलाई समेत पुरा गर्ने आश्वासन दिदै विद्यालयले राखेका माग पुरा गर्नका निम्ती विशेष पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
व्यवहारिक तथा गुणात्मक शिक्षामा जोड दिदै स्थानीय तहबाट आफुले सक्दो सहयोग गर्ने बताउदै पाँकुरी अधारभूत विद्यालयले नगरमै नमुना कार्यक्रम गर्दै अगाडी बढेकोमा शुभकामना सहित प्रशंसा समेत व्यक्त गर्नुभयो ।
विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै भौतिक संरचना, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षाको लागि वैकल्पिक उर्जाको लागि सौर्य वत्ति लगाएतका मागहरु सम्बोधन गरिदिन माग गर्दै विद्यालयका प्रधानाध्यापक गणेश बेल्बासेले आग्रह गर्नु भएको थियो ।
वडा अध्यक्ष केसीले विद्यालयको शैक्षिक विकासको लागि भन्दै यस अघि घोषणा गरेको रकम रू। बिस हजार विद्यालयलाई प्रदान गर्नु भएको छ । वडा अध्यक्ष केसीलाई विद्यालयले फुलमाला, खादा, अबिर, सम्मान पत्र र मायाको चिनो प्रदान गरेर भव्यताका साथ सम्मान गरेको थियो ।
पाँकुरी विद्यालयले वडाका स्थानिय जनप्रतिनिधीलाई शैक्षिक विकासमा ध्यानाकर्षण गराउने उद्देश्यले आफ्नो ३७ औं वार्षिक उत्सव सहित विविध कार्यक्रम आयोजना गरेको हो ।
विद्यालय तहको शिक्षा व्यवस्थापनको अधिकार संविधानले स्थानीय तहलाई दिए अनुसार जनप्रतिनिधीहरुलाई शिक्षा प्रतिको जिम्मेवारी बोध गराउन वार्षिक उत्सव कार्यक्रम गरिएको विद्यालयले बताएको छ । शिक्षामा लगानी बढाई दीर्घकालीन लाभ पुग्ने योजना सहितका शैक्षिक कार्यक्रम बनाउन सचेत गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रअ गणेश बेल्बासेले बताउनुभयो । चुनावी घोषणापत्रमा शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्ने प्रतिबद्धता अनुसार कार्यान्वयनमा ल्याउन वडा नं. ९ का जनप्रतिनिधीहरुलाई विद्यालयले सुझाव समेत दिएको छ ।
कार्यक्रमबाट प्रत्येक टोलबाट एक एक जना उत्कृष्ट अभिभावकलाई सम्मान, अक्षयकोष स्थापनाको लागि संचालन गरिएको देउसी भैलोमा सहयोग गर्ने दाता सम्मान, छात्रावृत्ति वितरण, विद्यालयले बार्षिक उत्सवको अवसरमा संचालन गरिएको सप्ताहब्यापी खेलकुद तथा शैक्षिक अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण, भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत, विद्यालयले संचालन गरेका विभिन्न अभियानमा सहयोग गर्ने महानुभावहरूलाई सम्मान, पूर्व शिक्षक सम्मान, अरूका बच्चालाई आफ्नो घरमा पालन पोषण गरी पठनपाठनमा सहयोग गर्ने अभिभावकहरुलाई सम्मान गरेको छ । त्यस्तै विद्यालयका शिक्षक तिलक राम बन्जाडे शैक्षिक सत्र २०७५ को उत्कृष्ट शिक्षकका रुपमा विद्यालय व्यवस्थापन समितीबाट सिफारिस भई सम्मानित हुनु भएको छ ।
शिक्षक सेवा आयोगले लिएको आन्तरिक परीक्षामा सफल हुने वडा नं।९ का शिक्षकहरुमा शर्मिला पौडेल, बाबुराम आर्चाय, पार्वता आर्चाय, हुमीसरा विक, पवित्रा पन्थी लिडर विद्यालयको तर्फ देखि सम्मानित हुनुभएको छ ।
त्यस्तै २०७५ सालको वार्षिक नतिजामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिनुका साथै विद्यार्थीको प्रगति पत्र अभिभावकहरूलाई प्रदान गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथी राम बहादुर घर्ती, कमानसिंह सारु, जनता आधारभूत विद्यालयका प्रअ पूर्ण बहादुर केसी, बाल आधारभूत विद्यालयका प्रअ बाबुराम आर्चाय, तुल्सी आधारभूत विद्यालयका प्रअ मेघराज गाहा लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले वडाका जनप्रतिनिधीहरुलाई शिक्षामा लगानी बढाउन जोड दिएका थिए ।
उत्सव कार्यक्रममा स्थानिय जनप्रतिनिधि, भुतपुर्व शिक्षक तथा विद्यार्थी, सहयोगीदाता, बुद्धिजिवी, समाजसेवी, शुभचिन्तक, पत्रकार, विभिन्न विद्यालयबाट अध्यक्ष, प्रअ तथा शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, विभिन्न संघसंस्था, क्लब, महिला समूह, सामुदायिक बन, सहकारी समूह अध्यक्ष तथा प्रतिनिधी लगाएतका महानुभावहरुको उपस्थिती रहेको थियो । कार्यक्रम विद्यालयका अध्यक्ष खुम बहादुर लुईचेको अध्यक्षता, शिक्षक सुशिला आर्चायको स्वागत मन्तव्य र प्रअ गणेश बेल्बासेको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया