८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

पाल्पाका कृषकलाई उन्नत जातका बाख्रा वितरण



पाल्पा ।
पाल्पाको माथागढी गाउँपालिकाले कृषकलाई उन्नत जातका बाख्रा वितरण गरेको छ । बाख्रापालन व्यवसाय गरेर आयआर्जन बढाउन गाउँपालिकाको आव २०७५÷७६ को रु नौ लाख बजेटबाट वडा नं ७ रहबासका कृषकलाई बाख्रा वितरण गरिएको हो ।

गाउँपालिकाले ८० बोयर र जमुनापारी जातको बोका र माउ वितरण गरेको जनाएको छ । साथै खोर सुधार सामग्री, औषधि र विभिन्न सामग्रीसमेत प्रदान गरिएको छ ।

धनुवा कृषक समूहमा आबद्ध कृषकलाई आयआर्जन बढाई आत्मनिर्भर बनाउन बाख्रा वितरण गरेपछि कृषकमा उत्साह बढेको छ । परम्परागत तरिकाले स्थानीय जातका बाख्रापालन व्यवसाय गर्दा मेहेनतअनुसार कृषकले आर्थिक लाभ लिन नसकेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगर बताए । “उन्नत जातका बाख्रा वितरणसँगसँगै आधुनिक तरिकाले बाख्रापालन प्रविधिसम्बन्धी तालीम, जुका माटेको औषधि, विभिन्न सामग्री वितरण गरिरहेका छौँ”, उनले भने ।

ग्रामीण क्षेत्र रहेकाले घाँसपात र चरनको पर्याप्त सुविधा हँुदा आधुनिक तरिकाले बाख्रापालन व्यवसाय गरेर कृषकले आर्थिक लाभ लिन सकुन् भनेर बाख्रा वितरण गरिएको थापाले बताए । गाउँपालिका–७ का अध्यक्ष जङ्गबहादुर थापाले भौगोलिक क्षेत्र, हावापानीले यो क्षेत्र बाख्रापालनका लागि उपयुक्त रहेकाले व्यावसायिक तवरबाट बाख्रा पाल्न आग्रह गरेका छन् । रासस

प्रकाशित मिति : २६ बैशाख २०७६ बिहिबार ००:००  १२ : ३२ बजे