८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

पशुपालनतर्फ कृषकको आकर्षण



सुनसरी ।
सुनसरीमा पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै जिल्लामा दूध, मासु तथा माछाको उत्पादनमा वृद्धि भएको पाइएको छ ।
जिल्लामा गाईभैंसीको दूध तथा माछामासुको उत्पादनमा वार्षिक रूपमा वृद्धि हुँदै गएको पशुसेवा ज्ञान केन्द्र सुनसरीको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा गाई र भैसी गरी जम्मा ३४ हजार ६८ मेट्रिकटन दूध उत्पादन भएको सुनसरी केन्द्रका डा मनोजकुमार महतोले जानकारी दिए ।
गत वर्षको आठ महीनामा जिल्लामा ३४ हजार एक मेट्रिकटन दूध उत्पादन भएकोमा चालू आवको सोही अवधिमा ३४ हजार ६८ मेट्रिकटन गाई र भैसीको दूध उत्पादन भएको केन्द्रका डा. महतोले बताए । जिल्लामा चालू आवको आठ महिनाको अवधिमा ११ हजार १५० मेट्रिकटन गाईको दूध उत्पादन भएको छ भने २२ हजार ९१८ मेट्रिकटन भैसीको दूध उत्पादन भएको छ ।
जिल्लामा गत वर्षको सोही अवधिमा १० हजार २०० मेट्रिकटन गाईको दूध र २३ हजार ८०१ मेट्रिकटन भैसीको दूध उत्पादन भएको थियो । जिल्लामा गत वर्षको तुलनामा चालू आवको आठ महीनामा गाई र भैसी गरी जम्मा ६७ मेट्रिकटन बढी दूध उत्पादन भएको केन्द्रका सूचना प्रमुख केशव श्रेष्ठले जानकारी दिए ।
जिल्लामा गत वर्षको तुलनामा चालू आवको आठ महिनाको अवधिमा ९५० मेट्रिकटन बढी गाईको दूध उत्पादन भएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुनसरीले जनाएको छ । यसैबीच सुनसरीमा माछामासु उत्पादन बढेको छ । जिल्लामा खसीबोका, राँगा, बंगुर, कुखुरा, हाँस, परेवा लगायतका पशुपंक्षीको पालनमा कृषकको आकर्षण बढेसँगै माछामासु उत्पादनमा वृद्धि भएको पशुसेवा विज्ञ केन्द्र सुनसरीले जनाएको छ ।
जिल्लामा गत वर्ष आठ महिनाको अवधिमा सात हजार सात सय ७७.६६ मेट्रिकटन मासु उत्पादन भएकोमा चालू आवको आठ महिनाको अवधिमा सात हजार नौ सय मेट्रिकटन माछामासु उत्पादन भएको पशुसेवा विज्ञ केन्द्र सुनसरीको तथ्यांकले देखाएको छ ।
जिल्लामा गत वर्ष आठ महिनाको अवधिमा एक हजार ५८० मेट्रिकटन खसीबोकाको मासु उत्पादन भएको थियो । चालू आवको सोही अवधिमा एक हजार ५८५ मेट्रिकटन खसीबोकाको मासु उत्पादन भएको विज्ञ केन्द्रका डा. महतोले बताए ।
जिल्लामा गत वर्ष आठ महिनाको अवधिमा चार हजार १९० मेट्रिकटन राँगाको मासु उत्पादन भएको थियो । चालू आवको आठ महिनामा चार हजार १८६ मेट्रिकटन राँगाको मासु उत्पादन भएको थियो । त्यसैगरी जिल्लामा गत वर्ष आठ महिनाको अवधिमा ६६० मेट्रिकटन बंगुरको मासु उत्पादन भएको थियो । चालू आवको आठ महिनामा ६६६ मेट्रिकटन बंगुरको मासु उत्पादन भएको केन्द्रको तथ्यांकमा छ ।
जिल्लामा गत वर्ष आठ महिनामा ६९३ मेट्रिकटन कुखुराको मासु उत्पादन भएकोमा चालू आवको आठ महिनामा ७९८ मेट्रिकटन उत्पादन भयो । जिल्लामा गत वर्ष आठ महिनाको अवधिमा १.०१ मेट्रिकटन भेडाको मासु उत्पादन भएमा चालू आवको सोही अवधिमा १ मेट्रिकटन उत्पादन भयो । रासस

प्रकाशित मिति : २४ बैशाख २०७६ मंगलबार ००:००  ७ : ४६ बजे