८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

तरकारीको जोन धनकौली गाउँ, दर्जनौं परिवार आश्रित, लाखौको कमाई



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १० स्थित ८ वटा गाउँ तरकारी खेतीमा लागेका छन् । देउपुरा लोहोरौला, बिजगौरी गगनी, हर्राहवा, पिपराहवा, धरमपुर र झलवा गाउँका पुरै परिवार तरकारी खेतीमा लागेका हुन् । सदरमुकाम तौलिहवा संग सटेको बुद्धुभूमि नगरपालिका– १० धनकौलीका ती गाउँ ब्यवसायिक तरकारी खेतीका लागि नमुना बनेको छ ।
तीन दशक अघि सम्म घर खर्चका लागि मात्र खेती गरिने त्यहाँ मौसमी र बेमौमसी तरकारी टनका टन उत्पादन हुने गरेको छ । छिमेकी जिल्ला अर्घाखाँची, रुपन्देही र जिल्लासंग सीमा जोडिएको भारतको सीमावर्ती क्षेत्रहरुमा समेत ब्यवसायिक तरकारी खेतीका लागि धनकौलीले ख्याती कमाएको छ ।
चार दशक अघि देशका बिभिन्न स्थानबाट बसाईसराई गरी आएका पाँच÷दश जनाले मात्र आफनो घर खर्चका लागि तरकारी उत्पादन गर्दथे । तर अहिले तरकारी उत्पादनमा सो गाउँले फड्को मारेको छ । केवट जातिका कृषकहरुले गरेको नमुना तरकारी खेती हेर्न लायक छ । बाह्रै मास तरकारी खेती गरेर त्यहाँका कृषकले बार्षिक एक देखि १० लाख रुपैया कमाउने गरेका छन् । गाउँको कुल १ हजार ३ सय परिवार मध्ये ५ सय बढी तरकारी खेतीमा लागेर आयआर्जन गर्दै आएका छन् । त्यस मध्ये तरकारी खेतीबाटै गाँउका ३ जना करोड बढी सम्पत्तिको मालिक बन्न सफल भएको कृषकहरु बताउँछन ।
बार्षिक एक लाख बढी कमाउने कृषक गाउँमा ढेड सय बढी छन् । मोटरसाईकल, आफ्नै पम्प सेट लगायतका सामान जोडेका छन् कृषकहरुले । कृषि ज्ञान केन्द्रका अनुसार साविक धनकौली गाबिस र हालको बुद्धभूमि नगरपालिका वडा नं. ११ मा २ सय २५ हेक्टरमा तरकारी खेती गरिन्छ । जसबाट बसन्ते र हिउँदे गरी ४ हजार ६ सय मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ ।
सदरमुकाम तौलिहवा देखि ४ किलो मिटर उत्तर बाणगंगा नदीको छेउमा रहेको धनकौलीमा सुरुका दिनमा अभाव र कष्ट झेलेका कृषकहरुले गरेको महिनेत र परिश्रमले रंग देखाएको छ । तरकारी खेतीबाट करोडौको मालिक बनेका देबपुरका अगुवा कृषक फुल चन्द केवटले तरकारी खेतीबाट बार्षिक १० लाख बढी आम्दानी हुने गएको बताए । सुरुका दिनमा टोकरीमा गाउँ गााउँमा डुलाएर तरकारी बेचेर जीवन निर्बाह गरेका उनले अहिले तरकारी खेतीबाट सबै भन्दा बढी आम्दानी गर्ने कृषकको रुपमा चिनिएका छन ।
तरकारी बेचेरै सदरमुकाम तौलिहवाको ३ स्थानमा खडेरी, गाउँमा पक्की घर र खेत जोड्न सफल भएको उनले बताए । केवटकोे पुरै परिवार अहिले तरकारी मै खेती मै ब्यस्त छन् । ‘बालबच्चाको पढाई, घर ब्यवहार, उपचार सबै खर्च तरकारीले नै धानेको छ उनले भने ।
देउपुरा कै राम सरन केवट, रामजी केवट लगायत २० जना भन्दा बढीले तरकारी खेतीबाट बार्षिक २ देखि ५ लाख सम्म आम्दानी गदै आउनु भएको छ । २०४० साल ताका सिंचाईको सुबिधा नहँुदा गाउँकै घोराही नाला तथा बाणगंगा नदीबाट बधा बाधेर सिंचाई गरी खेती गरिएको धनकौलीमा अहिले घर घरमा पम्म सेट, ढिकी पम्प, बोरिङबाट बालीमा पानी हाल्ने गरिएको ६० बर्षे रामजी केवटले बताए । ‘सुरुका दिनमा गाउँका सबै कृषहरुले निकै संघर्ष गर्न परेको थियो, घर चलाउनै मुस्किल पथ्र्यो । ’ उनले बिगत सम्झदै भने ‘तरकारीबाट यस्तो स्थिति आउँला भन्ने कसैले कल्पना सम्म गरेको थिएन ।’
१५ बर्ष मै हेर्दा हेर्दै तरकारी खेतीबाट गाउँकै जीवनस्तरमा कायापलट भएको उनले बताए । कृषकहरुले सबै भन्दा बढी टमाटरबाट आम्दानी गर्ने गरेका छन् । त्यस्तै गोभी, बन्दा, भान्टा, बोडी, काउली, काक्रो, भिन्डी, लौका लगायतका तरकारीबाट समेत बढी आम्दानी हुने गरेका उनीहरु बताउँछन् । एक कठ्ठा क्षेत्रमा लगाएको टमाटरबाट एकै सिजनमा ७० हजार सम्म आफुहरुले कमाउने गरेका अर्का कृषक उमेश केवटले बताए ।
यस्तै बगरे खेतीमा बदाम, सखरखण्ड, खरबुजा, काँक्रो लगायतका चिसो फल उत्पादन गरेका एकै सिजनमा एक देखि दुई लाख थुप्रै कृषकले आम्दानी गर्ने गरेको मेघनाथ केवट बताउछन् । १८ बर्ष अघि धनकौलीमा माड परियोजना संचालन भए पछि कृषकहरुले उन्नत जातको बीउ, प्राबिधिक ज्ञान लगायतका बिषयमा जानकारी पाए पछि त्यस यता तरकारी उत्पादनमा भारी बृद्धि भएको छ । सरकारी कार्यालयबाट प्राबिधिक र केही बिउबिजन बाहेक अरु केही सहयोग नपाएको कृषकहरुको गुनासो छ ।
अझै सिंचाई र बाटोघाटोका समस्या भएकाले सो समस्या समाधान भए धनकौली तरकारी उत्पादनमा देशमै गरिने अगुवा कृषकहरु बताउछन् । उत्पादीत तरकारीको बजारीकरणका लागि समेत उनीहरुलाई कुनै समस्या छैन । ६ बर्ष अघि कृषकहरुको अगुवाईमा खोलिएको रामघाट कृषि उपज संकलन केन्द्रले उनीहरुलाई तरकारी बिक्री गर्न निकै सजिलो भएको बताउँछन् । उत्पादीत तरकारी बुटवल, भैरहवा, पाखेरा काठमाण्डौ अर्घाखाँचीका ब्यपारीहरु किन्नका लागि गाडी लिएरै खेतैमा आउने गरेको संकलन केन्द्रका अध्यक्ष बहराची केवटले बताए ।
कृषकहरुको प्रयासलाई कदार गर्दै कृषि कार्यालयले दुई किस्ता गरी १० लाख र बिभिन्न गैर सरकारी संस्थाले समेत संकलन केन्द्रका लागि सहयोग गरेका थिए । कृषि कार्यालय तथा बिभिन्न गैरसरकारी तवरबाट सहयोग आएको किसान बताउँछन । केन्द्रको स्थापना पछि तरकारीको बजारीकरणमा कुनै समस्या आएको छैन ।’ केन्द्रका अध्यक्ष केवटले भने ‘ कृषकहरुले अहिले उपजहरुको निकै राम्रो मूल्य पाईरहेका छन् ।’
तरकारी संकलन केन्द्र स्थापना पछि आफूहरुलाई निकै सजिलो भएको उनले बताए । यस अघि उनीहरु कपिलबस्तु नगरपालिका तथा जिल्लाका बिभिन्न स्थानमा लाग्ने हाटमा तरकारीहरु बिक्रीका लागि जाने गरेका थिए । धनकौलीमा १५ वटा कृषक समुह, ४ वटा आईपिएम कृषक समुह समेत गठन भएका छन् ।
सो समुहमा आबद्ध रहेका कृषहरुले मासिक बचत समेत गर्दै आएका छन् भने समुह मार्फत कृषि सम्बन्धि प्रस्तावना, तालिम, गोष्ठी, प्राबिधिक ज्ञान लिने गरेका छन् उनीहरुले । देशभरी बैदेशिक रोजगारीमा जाने लहर चलीरहेको बेला धनकौलीका कृषहहरुलाई त्यसले कुनै प्रभाव पारेको देखिदैन । तरकारी खेतीबाटै मनग्य आम्दानी भए पछि त्यहाँका युवाहरु त्यसैमा लागि परेका छन् । त्यहाका युवा कृषकहरु भन्छन्, ‘१०– २० हजार गाउँ मै कमाउन सकिन्छ, बिदेश गएर किन दुख गर्ने ? ’ यही मेहीनेत गरे बिदेश भन्दा बढी कमाउन सकिने उनीहरु बताउँछन् ।
धनकौली तरकारी उत्पादनमा जिल्लामा अग्रणी स्थानमा रहेको तरकारी जोनका प्रमुख राकेश ओझाले बताए । यो । ‘धनकौलीले तरकारी उत्पादन गरेर जिल्लालाई नै आत्मनिर्भर बनाउने तर्फ उन्मुख गरेको छ ’ उनले भने‘ धनकौलीका कृषक जस्तै अन्य गाउँले पनि सिको गर्न जरुरी छ ’ । धनकौलीलाई तरकारी जोन कार्यक्रममा समेटिए पछि यहाँका कृषक झन उत्साहित बनेका छन ।

प्रकाशित मिति : १९ बैशाख २०७६ बिहिबार ००:००  ९ : ४३ बजे