८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कक्षा ११ १२ को परीक्षा मर्या्दित बनाउन मन्त्रालयको परीक्षा बोर्डलाई २२ बुँदे निर्देशन



काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा कक्षा १२ को वैशाख १५ र कक्षा ११ को वैशाख २९ बाट परीक्षा हुँदै छ। यी परीक्षालाई व्यवस्थित, मर्या्दित बनाउन शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षालाई व्यवस्थित, मर्या्दित र भयरहीत रूपमा सञ्चालन गर्न निर्देशन दिइएको एक विज्ञप्ति जारी गरेर जनाएका छन। २०७५ सालको एसइई परीक्षामा प्रदेश २ मा प्रश्न पत्र बाहिरिएर परीक्षा रद्द गर्नुपरेपछि मन्त्रालय र परीक्षा बोर्ड कक्षा ११ र १२ परीक्षा सुरु हुनु पहिले नै सचेत भएको हो। मन्त्री पोखरेलले परीक्षाको लागि अनुकूल वातावरण सिर्जना गर्न तथा परीक्षाका क्रममा हुनसक्ने अनियमित गतिविधि रोकथामका उपाय अपनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई २२ बुँदे निर्देशन दिएको जानकारी दिए।
मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा गठित समितिले कक्षा ११ र १२ को परीक्षा मर्या्दित रूपमा सञ्चालन गर्ने गराउने सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको हो। बैशाख १५ बाट सुरु हुने ११ र १२ को परीक्षा जेठ ८ गते सकिने छ। निर्देशनमा सुरक्षा निकायमा रहेका परीक्षा सम्बन्धी सामाग्री कुनै पनि हालतमा निर्दिष्ट पदाधिकारी बाहेक अरुलाई नबुझाउन कडा निर्देशन दिइएको छ।
परीक्षार्थी परीक्षा हलमा मोबाइल फोन लगेको भेटेमा तत्काल जफत गरी शुरक्षाकर्मी मार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउने र जिल्ला प्रहरी कार्यालयले मोबाइल प्रयोग सम्बन्धमा अनुसन्धान गर्ने र परीक्षा सम्पन्न भएपछि मात्र अभिभावकलाई बुझाउन निर्देशनमा उल्लेख छ। परीक्षा हलभित्र कसैलाई फोटो खिच्न, अडियो, भिडियो रेर्कड गर्न निषेध गर्ने र त्यस्तो कार्य कसैबाट भएको पाइएमा तत्काल दण्डित गर्नुपर्ने निर्देशन दिइएको छ।
निरीक्षकले परीक्षा मर्यादा विपरीतका कार्य रोक्ने प्रयास नगरेको वा नसकेको अवस्था केन्द्राध्यक्षले उक्त निरीक्षकलाई हटाई अमर्या्दित कार्य रोक्न सक्ने शिक्षकलाई मात्र निरीक्षकको रूपमा नियुक्ति गर्नुपर्ने बताइएको छ। उत्तरपुस्तिका परीक्षणमा उत्तरकुञ्जिकाको प्रयोग गर्ने, परीक्षक तथा सम्परीक्षकलाई अभिमुखीकरण उत्तर पुस्तिका परीक्षण गराउने निर्देशन छ। त्यस्तै उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण गर्दा कोडिङ तथा डिकोडिङ प्रणलीलाई अनिवार्य रूपमा अबलम्बन गर्न निर्देशनमा लेखिएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७६ शुक्रबार ००:००  १ : ५९ बजे