चितवन ।
नेपाल अण्डा उत्पादन संघले अण्डाको मूल्य प्रतिगोटा तीन रुपैयाँ घटाएको छ । अण्डाको बजार सन्तुलन कायम राख्न सोमबारदेखि लागु हुने गरी मूल्य घटाएको संघले जनाएको छ । यसअघि प्रतिगोटा १३ रुपैँया पर्ने अण्डाको मूल्य १० रुपैयाँ निर्धारण गरिएको संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए ।
नेपालमा हाल दैनिक ५० लाख वटा अण्डा उत्पादन हुने गरेको संघले जनाएको छ । नेपालको एक मात्र आत्मनिर्भर पोल्ट्री व्यवसायमा विभिन्न समयमा देखा पर्ने समस्याले समग्र ठूलो नोक्सानी व्यहोर्नु परिरहेको संघले बताएको छ ।
अध्यक्ष कँडेलका अनुसार नेपालमा अहिले दैनिक एक करोड ९२ लाख रुपैयाँ नोक्सानी भइरहेको छ । दानाको वर्तमान बजार मूल्य र अन्य खर्चका कारण उत्पादन लागत प्रतिगोटा अण्डाको १० रुपैयाँ ५० पैसा लाग्ने गरेको किसानको भनाइ छ ।
अण्डा उत्पादक किसानले हाल प्रतिगोटा ६ रुपैयाँ ६६ पैसा मात्रै पाउँदै आएका छन् । तीन रुपैयाँ ८४ पैसा नोक्सान व्यहोरेर बेचिरहेको किसानको गुनासो छ । केही समयअघि मात्रै किसानले आन्दोलन गरेपछि अण्डाको मूल्य बढाइएको थियो । बर्ड फ्लुले पोल्ट्रीजन्य बस्तुको खपतमा नकारात्मक प्रभाव परेको अण्डा उत्पादक संघले जनाएको छ।
संघले दिनहुँ घाटा सहनु परेको अवस्थातर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । उत्पादक र उपभोक्ताबीचमा रहेको अन्तर घटाउन र उपभोक्तालाई निर्धक्कसँग अण्डा र मासु उपभोग गर्ने वातावरण बनाउन सहयोगी भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गरेको छ ।
प्रतिक्रिया