काठमाडौं ।
फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘क्याप्टेन’ को प्रचारका लागि अनमोल केसी र भुवन केसी प्रचारमा खटिएका छन् । स्पोर्टस जानरामा निर्माण भएको फिल्म भएकाले पनि फिल्मको चर्चा छ ।
तर, यसअघि नेपालमा बनेका स्पोटर्स जानराका फिल्महरु नचलेको इतिहास छ । यो पक्का छ कि, यो फिल्म राम्रो भयो भने चल्ने हो । दर्शकले सोचेजस्तो छैन रैछ भने आइतवारबाट दर्शक हलसम्म जाँदैनन् । जे जस्तो भए पनि मिडियाका माध्यमबाट अनमोलले क्रेज चाहिँ बनाएका छन् ।
काठमाडौंमा भेटिएका अनमोलले भने यो फिल्म निकै नै मेहनत गरेर निर्माण गरिएको बताएका छन् । उनका अनुसार यो फिल्म यदि बाहिरी ब्यानरमा बनेको भए दश करोड लगानी लाग्थ्यो ।
‘यदि यो फिल्म ड्याडी ९भुवन केसी० ले आफ्नो होम प्रोडक्सनमा नबनाउनु भएको भए दश करोड लगानी लाग्थ्यो, फिल्ममा त्यत्रो मेहनत परेको छ, ड्याडीले चिन्नुभएको पीआरको कारण हामीले सस्तोमा फिल्म बनाएका छौँ ।’, अनमोलले भने ।
फिल्ममार्फत राष्ट्रियतालाई जोड्न खोजिएको यो फिल्मको ट्रेलर भारतविरोधी हो कि भन्ने लाग्छ । यसको उत्तर दिँदै अनमोलले भने, ‘फिल्म कुनै पनि देशको विरोधी होइन, बरु आफ्नो देशको राष्ट्रियता झल्काउँछ ।’
दिवाकर भट्टराईले निर्देशन गरेको यो फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् । फिल्मको ट्रेलर र गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्ममा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनील थापा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायतको समेत अभिनय रहेको छ ।
प्रतिक्रिया