एजेन्सी ।
साविक विजेता पेरिस सेन्ट जर्मेइनले फ्रेन्च लिग कप फुटबलको क्वाटरफाइनलमा अप्रत्यासित पराजय ब्यहोरेको छ ।
फ्रेन्च लिग वानमा अपराजित रहेको पीएसजीले नकआउट प्रतियोगितामा भने लिगको अन्तिम स्थानमा रहेको गुइनग्याम्पसँग २–१ गोलअन्तरले पराजित हुन पुग्यो ।
लिग वानमा रेलिगेसनबाट बच्न संघर्षरत गुइनग्याम्पले पीएसजीलाई उसकै मैदानमा अप्रत्यासित रुपमा हराउँदा दुवै गोल पेनाल्टीमा गरेको हो ।
पछिल्लो पाँच सिजन लगातार उपाधि जितेको पीएसजीका लागि नेइमारले ६२ औं मिनेटमा गोल गरी अग्रता लिएका थिए । तर, येनी बाकोटोले ८१औं मिनेटमा र मार्कस थुरमले इन्ज्यूरी समयमा गोल गरी टिमलाई शानदार जित दिलाए ।
फ्रान्सका महान फुटबलर लिलियन थुरमका छोरा मार्कसले ६१औं मिनेटमा एउटा पेनाल्टीको अवसरमा चुक्न पुगेका थिए । यता लिग वानमा रेलिगेसन जोनमै रहेको थिएरी हेनरी प्रशिक्षित टोली मोनाको भने सेमिफाइनलमा पुगेको छ ।
रेन्नेसलाई पेनाल्टी शुटआउटमा ८–७ गोलअन्तरले हराउँदै मोनाको अन्तिम चारमा पुगेको हो । यसअघि नियमित र अतिरिक्त समयमा खेल एक–एक गोलको बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया