सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटा स्थित अरनिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चालु आर्थिक वर्षमा कूल पूँजी साढे ७ करोड पुगेको छ ।
सहकारीले नवौं वर्ष पार गर्दा आर्थिक वर्ष २०७४।०७५ मा कूल पूँजी ७ करोड ५० लाख ५२ हजार ८ सय ५४ रुपैयाँ पुगेको हो । शनिबार नवौं साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष माधव पाण्डेयले सो बजेट सार्वजनिक गर्नुभएको हो । सहकारीले चालु आर्थिक वर्षमा मात्र ६करोड ५० लाख २६ हजार ९सय ६७ रुपैयाँ कर्जा प्रवाह गरेको कोषाध्यक्ष पाण्डेयले बताउनुभयो । सहकारीको बचत निक्षेप ५ करोड २७ लाख २४ हजार ३सय ८७ रुपैयाँ रहेको उनले जनाउनुभयो । सहकारीको स्थिर सम्पत्ति १ करोड २ लाख ५ हजार ८सय ४३ रहेको छ भने शेयर पूँजी मात्र १करोड २६ लाख ७५ हजार पुगेको पाण्डेले बताउनुभयो ।
साधारण सभालाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले आर्थिक समृद्धिले मात्र देशको समृद्धि हुनेमा जोड दिनुभयो । “अब राजनीतिक लडाई गर्ने बेला छैन, सबै मिलेर आर्थिक क्रान्तिमा जुट्नुपर्छ”– नगर प्रमुख अधिकारीले भन्नुभयो । नौ वर्ष पार गर्दा अरनिको सहकारीले जिल्लामै नमूना सहकारीको रुपमा फड्को मार्दै अगाडि बढेकोमा उहाँले प्रशंसा समेत व्यक्त गर्नुभयो ।
नगर प्रमुख अधिकारीले सहकारिताको नाममा रकम संकलन गरी आर्थिक हिनामिना गर्दै भाग्ने प्रवृत्तिभन्दा माथि उठेर जनताको विश्वास जितेर काम गर्न सहकारी संचालकहरुलाई सुझाव दिनुभयो । आर्थिक पारदर्शिता र दीर्घकालिन योजनाका साथ अगाडि बढेमा सहकारीप्रति सबैको विश्वास बढ्ने समेत उहाँले तर्क राख्नुभयो । सहकारीलाई सुशासन, व्यवस्थापन र पारदर्शितालाई विशेष सुधार गरी अगाडि बढ्न समेत नगरप्रमुख अधिकारीले सुझाव दिनुभयो ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय प्रमुख नरबहादुर खडका, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलि, नेपाल आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष लंकबहादुर हमाल, राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णुप्रसाद खतिवडा, हिमपात सहकारीका अध्यक्ष शिवराज सुवेदी लगायतले सहकारिताको विकासले आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै अरनिको सहकारीको उन्नति प्रगतिको कामना गरेका थिए ।
कार्यक्रममा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारु, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, वडा५ का वडाध्यक्ष अर्जुन बहादुर पाण्डेय, वडा ३ का वडाध्यक्ष टेकलाल सापकोटा, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका वरिष्ट उपाध्यक्ष लेखनाथ घर्ती लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसरमा सहकारीका अध्यक्ष दमन प्रसाद क्षेत्रीले सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा सहकारीको आर्थिक र सामाजिक विकासलाई विशेष जोड दिनुपर्ने बताउनुभयो ।
चन्द्रौटा क्षेत्रको समग्र आर्थिक समृद्धि र सामाजिक रुपान्तरण सहितको विकासमा टेवा पु¥याउन वि.सं. २०६६ साल चैत्र १० गते दर्ता भई ९० जना शेयर सदस्यबाट सहकारीको शुरुवात भएको संस्थापक अध्यक्ष शरद अधिकारीले जानकारी दिनुभयो ।
हाल सहकारीमा ३१२ महिला र १९५ पुरुष सहित ५०७ जना शेयर सदस्यहरु आबद्ध छन् । शिवराज नगरपालिकालाई कार्यक्षेत्र निर्धारण गरी सहकारी संचालन गर्दै आएको अध्यक्ष दमन प्रसाद क्षेत्रीले जानकारी दिनुभयो । हाल शिवराज नगरपालिकामा आबद्ध कूल ३३ सहकारी संस्थामध्ये १४ वटा क्रियाशील छन् ।
प्रतिक्रिया