८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बोडगाउँ चोकदेखि जिनुवा सम्मका लागि नयाँ रुट संचालनमा



हरि घिमिरे, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा ८ बोडगाउँ चोकदेखि जिनुवा सम्मका लागि नयाँ रुट संचालनमा आएपछि यात्रुहरुलाई केही सहज हुने भएको छ । बोडगाउँ चोकदेखि जिनुवासम्म हरेक दिन दुई सार्वजनिक यातायातका गाडी संचालन हुने भएपछि सर्वसाधारणहरु हर्षित भएका छन् । अब बस यस रुट हुदै बुटवलबाट दैनिक छुट्ने बताइएको छ ।

वाणगंगा नगरपालिका ८ का वडा अध्यक्ष गुणनिधि भुसालको नेतृत्वमा बोडगाउँ चोकदेखी जिनुवा सम्म नयाँ रुट संचालनमा ल्याइएको हो । जिनुवादेखि फर्कने क्रममा वडा नम्बर ९ का वडा अध्यक्ष धु्रब बेल्वासेको नेतृत्वमा पुन फर्केर वोडगाउँसम्म संचालनमा ल्याएर आजदेखि नयाँ रुट संचालनमा ल्याइएको थियो ।

उक्त रुट भएर यातायातका साधन संचालन गर्न विगत १० वर्ष देखि पहल गर्दै आएको भएतापनि संचालनमा भने आउन सकेको थिएन । तर शनिबार देखि पुर्ण रुपले सञ्चालन हुने गरी नयाँ रुट संचालनमा ल्याइएपछि आवातजावतमा धेरै सहज हुनेछ । कार्यक्रममा विगत देखी उक्त रुटमा बस संचालनमा पहल गर्दै आएका समाजसेवी सुर्यप्रसाद पाण्डे र दयाप्रसाद घिमिरेलाई गिरी सम्मान गरिएको छ ।

बाटो खुलेपनि मोर्मि, कोइली खोला र वर्दवा खोलामा पुल नबने सम्म वर्षायाममा भने गाडी चल्न असम्भव देखिन्छ । पुल निर्माणका लागि तत्काल विशेष पहल गर्ने वडाअध्यक्ष भुसालले बताउनुभयो । यस बाटो संचालनमा आएसँगै अर्घाखाँचीका बासिन्दालाई समेत आवतजावत गर्न दुरी कम हुने हुदाँ सहजता हुने भएको छ । बोडगाउँदेखि जिनुवासम्म ५ किलो मिटर मात्रै रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७५ शनिबार ००:००  ३ : १९ बजे