दाङ ।
पश्चिम दाङको पुरन्धरा गाउँपालिकाको सिमगौँराका कान्लाभरी केराखेती देख्न पाइन्छ । अहिले त्यहाँका ५० भन्दा बढी किसानले खेर जाने गरेको कान्लामा केराखेती गरेर आफूलाई आर्थिक रुपमा सक्षम बनाउँदै गएका छन् ।
दैनिकजसो आर्थिक उपार्जनका लागि विदेशिने युवाको सङ्ख्यामा वृद्धि भइरहेका बेला सिमगौँराका किसानले भने त्यसै खेर गएको कान्लामा केराखेती गरेर उदाहरण देखाएका छन् ।
उनीहरु केराखेती गरेर आफ्नो घर खर्च चलाउन मात्र नभई छोराछोरीलाई विद्यालयमा पठनपाठन गराउन पनि सफल भएका छन् । यस्तै मध्येका एक स्थानीयवासी भीमबहादुर खड्काले १० वर्षदेखि केराखेती गर्नुभएको छ । शुरु शुरुमा त त्यति धेरै आम्दानी लिन नसके पनि विस्तारै खेती गर्दै जाँदा वार्षिक ७० देखि ८० हजारसम्मको केरा बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
आफ्नो बारीमा उत्पादन भएको केरा बेच्नका लागि कुनै समस्या छैन भन्दै खड्काले बोटमा पाकेको केरा स्थानीय हापुरे बजारसम्म लगेर बेच्ने र काँचो केरा लिन त घरमा नै गाडी लिएर व्यापारी आउने गरेको बताउनुभयो । उहाँले बारीको कान्लामा केराका करीब २०० बोट रोप्नुभएको छ ।
अहिले त्यहाँका ५० भन्दा बढी घरपरिवारले आफ्नो बारीको कान्लामा केराखेती गर्नुभएको छ । केराखेती गरेर जीवन निर्वाह गर्न सफल अर्का किसान अम्मर वलीले केराका २५० भन्दा बढी बोट रोप्नुभएको छ ।
सोही ठाउँकी देउरुपा खड्काले पनि अहिले केराखेती गरेर वार्षिक रुपमा रु ६० हजार आम्दानी लिन सफल हुनुभएको छ । केराखेतीबाट राम्रो आम्दानी छिटो लिन सकिने हुँदा अब उन्नत जातको केराखेती गर्न बबई गाउँपालिकाले सहयोग गर्नुपर्ने उनीहरुको माग छ । (रासस)
प्रतिक्रिया