८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गुणस्तरीय जडिबुटी उत्पादनमा किसानको चासो



सलिम अन्सारी, प्यूठान ।
गुणस्तरीय जडिबुटी खेति गर्न इच्छुक रहेको एक कार्यक्रममा सहभागि कृषकहरुले चासो देखाएका छन् । जडिबुटि उत्पादक किसान,व्यापारी र स्थानिय संकलनकर्ता बिचको बुधबार नौबहिनी गाउँपालिका केन्द्र बहानेमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि कृषकहरुले जडिबुटी खेति विस्तार गर्न इच्छुक रहेको बताएका हुन् ।
नौबहिनी गाउँपालिका जडिबुटी उत्पादनको दृष्ट्रिकोणले राम्रो संभावना बोकेको क्षेत्र मानिन्छ । सोही क्षेत्रमा अल्लो, सिस्नोको पाउडर, टिमुर, पाखनवेद, सुगन्धवाल, सुगन्धकोकीला, चिराइतो लगायतका जडिबुटी खेतिको विकास र विस्तारको लागि आफुहरु तयार रहेको तथा प्रशोधन, प्रवर्धनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहनु पर्ने स्थानीय कृषक गिमान सिंह पुनले बताए । आफुले उत्पादनसंगै २ सय के.जी. टिमुर संकलन गर्दछन् । अन्य जडिबुटी भन्दा पछिल्लो समय टिमुरले बजारमुल्य प्राप्त भएको हुँदा कृषकहरु टिमुर तर्फ लागेको जानकारी दिए । ‘एक के.जी. टिमुरको मुल्य ५ सय ५० भन्दा माथी छ’ गिमान पुनले भने ‘गुणस्तरता कायम गर्न जनचेतनाको थप आवश्यकता रहेको छ ।’ सहकारी होस यो प्राइभेट कम्पनि हरेक क्षेत्रबाट जडिबुटीको प्रशोधन, वजारीकरणका लागि सरकारले ध्यान दिनु पर्ने उनको भनाई छ ।
जिआइजेट नेपालको सहयोग र नेपाल जडिबुटि व्यवसायी संघ जिल्ला शाखा, प्यूठानको आयोजनामा भएको कार्यक्रममा पूर्व सांसद पुनाराम थापाले टिमुरको बिषयमा उपभोक्ता र व्यापारी वीच द्धन्द्ध रहकेको भन्दै गुणस्तरीय बस्तु संकलनसंगै उचित मुल्य दिनु पर्नेमा जोड दिए । ‘कृषि तथा जडिबुटीको उत्पादनमा वल नदिए समृद्धीको सपना अधुरो रहन्छ’ थापाले भने ‘म आफै पनि गाउँमा कृषि सहकारी संचालन गरी भट्मास, मकै, कोदो लगायतका कृषिको वजारीकरणमा लागेको छु ।’
त्यस्तै साुमदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दामोदर शर्माले सरकारले सामुदायिक वन उपभोक्ता समुहको नाममा वन क्षेत्रको जमिनको लालपुर्जा दिलाउन वन महासंघ लागि परेको बताए । सामुदायिक वनले संसारमा नभएको वन हरीयाली, ब्यबस्थित बनाएको भन्दै वन सम्पदाको संरक्षणका लागि पनि लालपुर्जा सामुदायिक वनको नाममा हुनु जरुरी रहेको औल्याए ।
कार्यक्रममा नेपाल जडिबुटि व्यवसायी संघ जिल्ला शाखा, प्यूठानका अध्यक्ष कुलचन्द्र पौडेलको अध्यक्षता, सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानका अध्यक्ष दामोदर शर्माको प्रमुख आथित्यता, पूर्व सांसद पुनाराम थापाको विशेष आतिथ्यता, नौबहिनी गाउँपालिकाका वडा अध्यक्ष र सामुदायिक वनमा जडिबुटीको क्षेत्रमा काम गर्ने कृषक तथा संकलकहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७५ बुधबार ००:००  १ : ५१ बजे