८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

जोशी नै कायम मुकायम प्रधानन्यायाधीश, अब प्रधानन्यायाधीश को ?



काठमाडौं ।
संसदीय सुनुवाई समितिले अस्वीकृत गरे पनि दीपकराज जोशी कायम मुकायम प्रधानन्यायाधीशमा यथावत रहनु हुने भएको छ । राजीनामा गरेको अवस्था बाहेक अर्को प्रधानन्यायाधीश नियुक्त नहुँदासम्म जोशी यथावत हुने संवैधानिक व्यवस्था छ ।
संविधानको धारा १२९ को उपधारा ६ मा ‘प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कामू प्रधानन्यायाधीश भई काम गर्नेछ’ भन्ने व्यवस्था छ ।
सर्वोच्च अदालतका न्यायाधीशमध्ये वरिष्ठता क्रममा जोशी पहिलो स्थानमा रहेकाले अर्को प्रधानन्यायाधीश नियुक्त नभएसम्म उहाँ कामू प्रधानन्यायाधीशमा यथावत रहनु हुनेछ ।
तर प्रधानन्यायाधीश पदमा अस्वीकृत भइसकेको अवस्थामा पदमा रहिरहँदा उहाँमाथि नैतिक प्रश्न चाहिँ उठ्नेछ ।
यता संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि नयाँ प्रधानन्यायाधीशको लाइनमा ओम प्रकाश मिश्र हुनुहुन्छ । न्याय परिषदले जोशीसहित मिश्र र चोलेन्द्र शमशेर जबराको नाम संवैधानिक परिषदमा सिफारिस गरेको थियो ।
जोशीपछि रोलक्रममा मिश्र हुनुभएकाले अबको प्रधानन्यायाधीश उहाँ हुने सम्भावना छ । मिश्र प्रधानन्यायाधीश भएमा उमेरहदका कारण उहाँले आउँदो पुससम्म मात्र जिम्मेवारी सम्हाल्नुहुनेछ । मिश्र २०७१ सालको जेठमा सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनुभएको थियो ।
मिश्रपछि साढे तीन वर्षका लागि चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको लाइनमा हुनुहुन्छ । चोलेन्द्रपछि वरिष्ठताक्रममा दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्काको पालो आउँछ । तर उमेरहद्का कारण उनीहरुले अवकाश पाइसक्ने भएकाले त्यसपछिको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको पालो आउनेछ ।

प्रकाशित मिति : १८ श्रावण २०७५ शुक्रबार ००:००  १० : ३२ बजे