८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

शिवराजमा विपद्को बेला संरक्षण र लैंगिक हिंसा रोकथामबारे अभिमुखीकरण



सीताराम चौधरी, कपिलवस्तु ।
विशेष आवश्यकता भएका व्यक्तिलाई विपद्को बेला विशेष संरक्षणको व्यवस्था हुनुपर्ने महिला तथा बालबालिका विभागका महानिर्देशक नरेश कुमार चापागाईंले जोड दिनुभएको छ । साथै उहाँले विपद्को समयमा हुने लैंगिक हिंसा रोकथाममा विशेष सुरक्षा अपनाउनुपर्ने जिकिर गरे ।
कपिलवस्तुको चन्द्रौटामा आयोजित विपद्को अवस्थामा संरक्षण तथा लैंगिक हिंसा रोकथाम सम्बन्धी दुई दिने अभिमुखीकरणको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महानिर्देशक चापागाईंले यस्तो बताउनुभएको हो । विपद्को समयमा विशेष आवश्यकता भएका व्यक्तिहरुलाई विशेष संरक्षण दिनुपर्नेमा उहाँले जोड दिनुभयो । विशेष संरक्षणमा महिला, बालबालिका, अपांगता, जेष्ठ नागरिक पर्दछन्, महानिर्देशक चापागाईंले भन्नुभयो –विपद्को बेला उनीहरुलाई सुरक्षित स्थानमा तयारीमा राख्नुपर्छ । यसका लागि नगरपालिकाले विपद् व्यवस्थापनका लागि विशेष किसिमको योजना तयार पार्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो –“विपद् आउँछ, त्यसको सामना कसरी गर्ने ? पूर्व तयारी र सो समयमा के उपाय अपनाउने योजनामा समावेश गर्नुपर्छ ।”
उद्घाटन सत्रमा शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले विपद् व्यवस्थापनका लागि शिवराज नगरपालिकाले केही बजेट विनियोजन गरेको बताउँदै यसलाई व्यवस्थित रुपमा योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो । महिला, बालबालिका र अपांगता भएका व्यक्तिहरु सबैभन्दा बढी विपद्को जोखिममा पर्ने हुँदा उनीहरुको संरक्षणका लागि विशेष किसिमको योजना बनाई अगाडि बढ्ने उपप्रमुख थारुले बताउनुभयो ।
शिवराज नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेषकान्त पौडेलले आगलागीका घटना प्रमुख समस्याको रुपमा रहेको दर्शाउनुभयो । यसका अतिरिक्त नदी कटान, पहिरो, शीतलहरको प्रकोप शिवराज नगरको विपद्को रुपमा आइपर्ने औल्याउनुभयो । यसका लागि रणनैतिक योजना आवश्यक रहेको उहाँले जनाउनुभयो ।
कार्यक्रमकै बीच उहाँले शिवराजलाई खरको छानामुक्त नगर बनाउने अभियानका साथ यस आर्थिक वर्ष विसुनपुरबाट शुरुवात गर्न २० लाख बजेट छुट्टाएको जानकारी दिनुभयो । विपद् व्यवस्थापनमा समेत यस वर्ष २० लाख बजेट विनियोजन गरेका छौं –प्रमुख प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो ।
साउन १७ गतेसम्म चल्ने अभिमुखीकरणमा स्थानीय स्तरमा विपद् व्यवस्थापन, लैंगिक हिंसा, सुरक्षित महिला मैत्रीस्तर सेवाको महत्व, राष्ट्रिय संरक्षण रणनीति, स्थानीय स्तरको जिम्मेवारी लगायतका विषयबस्तुबारे जानकारी गराइने बताइएको छ । साथै दुई दिने अभिमुखीकरण पश्चात विपद् व्यवस्थापनका लागि शिवराज नगरपालिको रणनैतिक योजना तयार गरिने यूएनएफपीएका क्षेत्रीय संयोजक एवं सहजकर्ता राम थापाले जानकारी दिनुभयो ।
अभिमुखीकरणमा महिला तथा बालबालिका विभागका महानिर्देशक नरेश कुमार चापागाईं, महिला तथा बालबालिका विभागकी निर्देश विजया प्रसाईं, यूएनएफपीएका केन्द्रिय प्रतिनिधि हरि कार्की, जिल्ला प्रतिनिधि चित्र महतो, नेपाल रेडक्रस केन्द्रिय कार्यालयका सविन अधिकारी र नगेन्द्र अर्यालले सहजीकरण गर्नुहुनेछ ।
कार्यक्रममा शिवराज नगरपालिकाको आयोजना तथा महिला तथा बालबालिका विभाग, यूएनएफपीए र नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको प्राविधिक सहयोग रहने आयोजकले जनाएको छ । कार्यक्रममा शिवराज नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, महिला सदस्य लगायतको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७५ बुधबार ००:००  ११ : ११ बजे