८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

वाणगंगामा ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण



मणि प्रसाद गैह्रे, कपिलवस्तु ।
वाणगंगा नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा खेत जोत्ने पावर टिलर मेसिन वितरण गरेको छ । १२ वटा पावर टिलर ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कृषकहरुलाई वितरण गर्नुभएको हो । १ लाख ८० हजार पर्ने पावर टिलरमा कृषक सहकारी तथा समुहहरुवाट जम्मा ९० हजार लिई उक्त पावर टिलर मेसिन वितरण गरिएको हो । वितरण समारोहमा बोल्दै मुख्यमन्त्री पोख्रेलले कृषि क्षेत्रको विकासको लागि प्रदेश सरकारले प्रयाप्त बजेट विनियोजन गरेकोले व्यवसायिक रुपमा किसानहरुले काम गरि रोजगार सिर्जना गर्नु पर्ने बताउनुभयो ।
त्यस्तै प्रदेशसभा सदस्य विष्णु पन्थीले कपिलवस्तु उब्जनीको भण्डारको जिल्ला भएको हुँदा कृषिमा नयाँ योजना र उन्नत प्रविधि अपनाई खेती गर्नको लागि आफुले पहल गरेको बताउनुभयो । वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले नगरपालिकाले कृषि क्षेत्रमा योजना वनाई युवाहरुलाई कृषि पेशामा आर्कषण गराउनको लागि अनुदान मुलक काम गरेको बताउनुभयो ।
सो अवसरमा वाणगंगा ११ का अधियमन सहकारी संस्था लिमिटेडका लेखा संयोजक दुर्गा प्रसाद गैरेले नगरपालिकाले उपलब्ध गराएको पावर टिलरले साना किसानहरुको आयआर्जन र व्यवसायमा निकै सहयोग पुग्ने दाबी गर्नुभयो । नगरपालिकाले सूचना प्रकाशित गरि मागका आधारमा निश्चित मापदण्डका आधारमा १२ जना किसानहरुलाई छनौट गरी उक्त मेसिन वितरण गरेको कृषि सेवा शाखाका प्राविधिक पदम घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ असार २०७५ शनिबार ००:००  ३ : २४ बजे