८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सरुमारानी कुखुरापालकको रोजाईमा, गाउँमै करोडौँका पोल्टीफार्म



सलिम अन्सारी, प्यूठान ।
गाउँमा कुखुरापालन फस्टाए पछि प्यूठानको सरुमारानी क्षेत्र कुखुरा व्यवसायको हव बन्दै गएको छ । दशक यता ठूलो लगानीका कमर्सियल कुखुरा फार्म खुल्न थालेका हुन । कुखुरा र अण्डाको वजार बिस्तार सँगै पोल्टी व्यवसायमा लगानीको ओइरो लागेको हो । यहाँ अहिले करोडांै लगानीका आधा दर्जन पोल्टी फार्म संचालनमा छन । खुल्ने क्रम पनि जारी छ । सरुमारानी १ बाङ्गेसालका स्थानीय टंक जिसीले १ करोड १० लाखको लगानीमा गौरा पोल्टी फार्म संचालन गरिरहेका छन । असार १ गतेको आर्थिक खबरमा समाचार छ ।

१० रोपनी जग्गामा फार्म खोलिएको छ । दुई वटा खोर सहित दाना मिल, स्टोर निर्माण गरिएको छ । दुई वटा खोरमा अहिले झण्डै ९ हजार कुखुरा पालिएका छन । यहाँ उत्पादन भएका अण्डा प्यूठान र रोल्पाका बजार सहित अर्घाखाँची, गुल्मी, बुटवल सम्म पुग्ने गरेको उद्योग संचालक जिसिले बताउनुभयो । यही ब्रोइलर कुखुरा पाल्ने ‘एकता’ पोल्टी फार्म खुलेको छ । स्थानीय ४ जना युवा उद्यमीले मिलेर फार्ममा ५० लाख लगानी गरेका हुन् । सुबिधा सम्पन्न भौतिक पूर्बाधार रहेको फार्मका लागि ८ रोपनी जग्गा भाँडामा लिइएको छ । एकै साथ ७ हजार ५ सय चल्ला राखेर कुखुरा उत्पादन गरिरहेको फार्मका संचालक प्रकाश आचार्यले बताउनुभयो ।
त्यस्तै हालै यहाँ झिमरुक पोल्टि फार्म सुरु गरिएको छ । बैदेशिक रोजगारबाट फर्केका ४ जना मुस्लिम युवाहरु मिलेर लाखाँैको लगानीमा कुखुरापालन सुरु गरेका हुन् । सरुमारानी गाउँपालिकाको १ र २ नम्वर वडामा मात्रै ब्रोइलर र लेयर्सका चार दर्जन फार्म छन । त्यस मध्ये ब्रोइलर पाल्नेको संख्या बढी छ ।
यहाँ क्रेट उद्योग पनि खोलिएको छ । पश्चिम क्षेत्रका कुखुरापालक व्यावसायिलाई लक्षित गरि ९ बर्ष अघि खोलिएको यो उद्योगमा ८ हजार बढी अण्डा राख्ने क्रेट उत्पादन हुन्छ । पोल्टी फार्मले उद्योगबाट क्रेट किनेर लैजाने गरेको उद्योगले बताएको छ । १ करोड लागतमा उद्योग खोलिएको हो । ददेरीमा खोलिएको यो उद्योग नजिकै मध्य तथा सुदर पश्चिमकै पहिलो र ठूलो राप्ती फीड एण्ड हचरी प्रा.लि. छ । यसमा चल्ला उत्पादनका लागि १० हजार ब्रोइलरका प्यारेण्ट जातका कुखुरा पालिएको छ । २०६७ सालमा ४ जनाको साझेदारीमा उद्योग खोलिएको हो । दैनिक यहाँ १ हजार ५ सय देखि ३ हजार ५ सय सम्म अण्डा उत्पादन हुने गरेको छ । यहाँ खुलेका दर्जनौ साना तथा ठूला उद्योगमा सयौलाई रोजगारी समेत मिलेको छ ।
सरुमारानी गाउँपालिकाले कुखुरापालकलाई ब्यबस्थित र व्यवसायिक बनाउन नीति बनाउने तयारी गरेको छ । गाउँपालिका प्रबक्ता बसन्त जिसिले कुखुरापालक कृषकहरुलाई एकिकृत गरि सहकारी मार्फत ब्यबसायिलाई अगाडि बढाउने बताउनुभयो । सरुमारानी गाउँपालिकाले कृषकको बृहत्तर हितका लागि किसान सँग गाउँ सरकार कार्यक्रम मार्फत ५० लाख बिनियोजन गरेको उहाँले जानकारी दिनुभयो । यो क्षेत्रमा लेर्यस र ब्रोइलर कुखुरापालनमा ३० करोडको हाराहारीमा लगानी भइसकेको छ । जानकारहरु भन्छन, ‘यहाँ कम्तीमा ४० हजार कुखुरा पालन सक्ने पूर्वाधार तयार भएका छन् ।’

प्रकाशित मिति : २ असार २०७५ शनिबार ००:००  ३ : १२ बजे