८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

असल राष्ट्रसेवक बनेर देश विकास निर्माणमा जुटौ : मन्त्री पण्डित



सीताराम चौधरी, कपिलवस्तु ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीबीच सुमधुर सम्बन्ध कायम गरी समृद्ध राष्ट्र निर्माणमा जुट्न आग्रह गरेका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटास्थित व्यापार संघ कपिलवस्तुको भवन सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले जनप्रतिनिधिलाई साथ सहयोग दिई असल राष्ट्रसेवक बनेर देश विकास निर्माणमा लाग्न जिकिर गरेका हुन् । जनप्रतिनिधि ज्यूहरु राष्ट्रसेवक पुगेन भनी गुनासो गर्दै आएका छन् । आफूले राष्ट्रिय सभादेखि लिएर गाउँपालिकाको वडासदस्यसम्मको जनप्रतिनिधिहरुको मनोबल बढाउने र साथ सहयोग गर्ने मन्त्री पण्डितले प्रतिबद्धता जाहेर गरे । जनप्रतिनिधिहरु जनताको सेवामा दिनरात तल्लिन भएझैं राष्ट्रसेवक कर्मचारीहरु पनि हरेक संकटलाई सामना गर्दै नेपालको संविधान ऐन कानुन अनुसार तोकिएको जिम्मेवारी बहन गर्न तयार हुनुपर्ने मन्त्री पण्डितले सुझाव दिए ।
आफू कहिल्यै निराश नहुने र अरुलाई पनि कहिल्यै निराश हुने बाटोमा लाग्न नदिने मन्त्री पण्डितले प्रण गरे । उनले भने – “म जोडने पक्षमा छु, फोड्ने पक्षमा कहिल्यै पनि लाग्दैन, भत्काउन जान्ने, बनाउन नजान्ने बाटो म लिंदै लिन्न । भत्काउनेले बनाउन पनि जान्नुपर्छ । त्यसैले म संविधान ऐन कानुनलाई टेकेर सबैका चित्तबुझ्ने गरी काम गर्छु ।”
राम्रो काम गर्नेलाई पुरस्कार र गलत काम गर्नेलाई दण्डित गर्न आफू पछि नपर्ने समेत उनले उद्घोष गरे । राष्ट्रले क्षमता अनुसार सेवासुविधा दिन तयार रहेको बताउँदै नेता पण्डितले जनताको स्तर र आफ्नो स्तर बुझेर काम गर्न आग्रह गरे । यथार्थतालाई अवलम्बन गर्दै अगाडि बढ्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई अनुरोध समेत गरे ।
“राजनीतिक रुपमा हामी स्थायित्व तर्फ गयौं तर प्रशासनिक रुपमा चाहीँ संक्रमणकालमा छौं । देशको शान्ति, समृद्धि र विकासको लागि एकताको खाँचो रहेको उनले जिकिर गरे । बलिया त आफ्नो बाटोमा लाग्छन् नै, तर कमजोर भएको बेला झन एकताको आवश्कता पर्ने उनले बताए ।
मन्त्री पण्डितले भने देशमा सामाजिक, धार्मिक, जातीय सद्भाव कायम गर्न तथा भौगोलिक र साम्प्रदायिक विभेदहरुलाई अन्त्य गर्न एकताको आवश्यकता भएको स्पष्ट पारे । साथै उनले जनप्रतिनिधि र राष्ट्रसेवकबीच एकताको आवश्यकता रहेको औल्याए ।
भवन सिलन्यास कार्यक्रममा मन्त्री पण्डितलाई २१ किलोको मालाले स्वागत गरिएको थियो । सोही प्रसंगमा मन्त्री पण्डितले आफूले जीवनमै पहिलो पटक यति ठूलो माला लगाएको बताउँदै आफ्नो लागि जीवनभर अविस्मरणीय हुने बताएका थिए । उनले स्थानीय तहको भवन निर्माणका लागि जग्गाको व्यवस्था भए १८ देखि २० करोडसम्म रकम उपलब्ध गराउने बताए । उनले कपिलवस्तुको समग्र विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
कार्यक्रमको अवसरमा कपिलवस्तु क्षेत्र नं. ३ (१) प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी., पूर्व राज्यमन्त्री ईश्वर दयाल मिश्र, पूर्व सांसद बलराम अधिकारी, एमाओबादी नेत्री पूर्व सांसद उमा वि.क., शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी लगायतले जिल्लाको वस्तुस्थित दर्शाएका थिए । वक्ताहरुले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा सरकारले कपिलवस्तुलाई विशेष प्राथमिकतामा राख्नुपर्ने जिकिर गरेका थिए । व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले मन्त्रीबाट भवन सिलन्यास गर्न पाउँदा खुशी व्यक्त गरे । उनले भवन निर्माण कार्यलाई यथासिघ्र सम्पन्न गरी पुनः मन्त्री पण्डितकै हातबाट भवन उद्घाटन गर्ने अवसर सिर्जना हुने विश्वास व्यक्त गरे । सोही प्रसंगमा व्यापार संघ अध्यक्ष पोखरेलले चन्द्रौटा कृष्णनगर क्षेत्रलाई औद्योगिक करिडोरको रुपमा अगाडि बढाउन मन्त्री पण्डित समक्ष आग्रह गरे ।
व्यापार संघको भवन सिलन्यासपछि मन्त्री पण्डित शिवराज नगरपालिका अनुगमन गरेका थिए । त्यसपछि मन्त्री पण्डितले विजयनगर गाउँपालिका ४, डगडहवा जगदीशपुरस्थित मदरसा रजबिया लिलबनात (गल्र्स स्कूल) को समुद्घाटन गरेका थिए । अल्पसंख्यक मुस्लिम समुदायका बालिकाहरुलाई शिक्षाको मूलधारमा ल्याउन गाउँपालिकाले गल्र्स स्कूल स्थापनामा सहयोग गरेको गाउँपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिएका छन् । मन्त्री पण्डित ३ दिनका लागि कपिलवस्तु आएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७५ शनिबार ००:००  १ : २९ बजे