८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुमा पर्यटन बोर्ड गठन गर्न सांसद पन्थीको जोडदार माग !



मायादेवी अनलाइन, कपिलवस्तु ।
पाँच नम्बर प्रदेशका सांसद विष्णु पन्थीले कपिलवस्तुमा रहेका बुद्धस्थलको प्रचार प्रसारका लागि कपिलवस्तु पर्यटन बोर्ड गठन गर्नुपर्ने धारणा राख्नुभएको छ । संसदको शून्य समयमा आफ्नो धारणा राख्दै सांसद पन्थीले कपिलवस्तु पुरातात्विक हिसाबले धनि भएपनि सोचे जस्तो विकास हुन नसकेको भन्दै कपिलवस्तु पर्यटन बोर्ड गठन गर्नुपर्ने धारणा राख्नुभएको हो । भगवान गौतम बुद्धले २९ बर्षिय युवा अवस्था व्यथित गरेको ठाउँ कपिलवस्तु भएपनि विकास हुन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
कपिलवस्तुमा रहेका पुरातात्विक स्थलको प्रचार प्रसार गर्न सके सिंगो प्रदेशको पर्यटनमा ठुलो टेवा पुग्ने भन्दै यस तर्फ ध्यान पु¥याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । विकास र समृद्धिमा निकै चासो राख्दै आउनुभएका सांसद पन्थीले कक्षा १ देखि कक्षा १२ सम्म बुद्धको बारेमा पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाले प्रदेश नम्बर पाँचका सबै सरकारी संस्थाहरुमा बुद्धका मूर्ति राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । बुद्धजयन्ति नजिकिदै गइरहेका बेला उहाँले सबै विद्यालयले बुद्धजयन्ति मनाउनुपर्ने धारणा राख्नुभयो । सांसद पन्थीले भारतले नक्कली कपिलवस्तु बनाए भ्रम छरिरहेको भन्दै त्यस्तो भ्रमलाई चिर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । भारतले गरेको भ्रमलाई चिर्नका लागि पनि प्राचिन कपिलवस्तुको विकासमा ध्यान दिनुपर्नेमा उहाँको तर्क थियो ।
२५ सय ६२ औं अन्तराष्ट्रिय बुद्ध जयन्ति नजिकिदै गएको छ । यसको भव्य तयारीमा केन्द्रिय, प्रदेश र स्थानीय सरकार लागेका छन । शान्तिका अग्रदुत भगवान गौतमबुद्ध जन्मिएको लुम्बिनी, बुद्धले २९ बर्षिय युवा अवस्था व्यथित गरेको तिलौराकोट, मावली ठाउँ देवदह लगायतका स्थल पाँच नम्बर प्रदेश अन्तरगत प्रर्दछन ।
लुम्बिनीको संरक्षण गर्ने अधिकार पाएको लुम्बिनी विकास कोषले सोचे जस्तो विकास गर्न नसकेको आरोप बेला बेला लाग्दै आएको छ । बुद्धकी आमा मायादेवी आफ्नो माइती घर जादै गर्दा बुद्ध लुम्बिनीमा जन्मिएका हुन । तर कपिलवस्तुको तिलौराकोटमा बुद्धका पिता राजा शुद्धोधनको राजदरबार रहेको थियो । यहि दरबारमा भगवान गौतमबुद्धले आफ्नो २९ बर्षिय बाल्यकाल व्यथित गरेका थिए ।
लुम्बिनीमा राज्यले जति विकास गरेको छ त्यसको तुलनामा निकै कम विकास कपिलवस्तुमा भएको छ । कपिलवस्तु पुरातात्विक स्थलले भरिपूर्ण रहेपनि लुम्बिनी विकास कोषले ध्यान दिन नसकेको हो । प्रदेश बैठकमा सांसद पन्थीले कपिलवस्तु पर्यटन बोर्ड स्थापना गनुपर्ने जोडदार माग गरे संगै कपिलवस्तुको मुहार फेरिने आशा यहाँका नागरिकले गरेका छन ।

प्रकाशित मिति : १३ बैशाख २०७५ बिहिबार ००:००  ३ : ३० बजे