८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

शिवराजमा नगरस्तरीय थारु कलाकार संघ गठन



सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकामा थारु राष्ट्रिय कलाकार संघको नगरस्तरीय समिति गठन भएको छ ।
थारु राष्ट्रिय कलाकार संघ जिल्ला समितिको पहलमा नगरक्षेत्रभित्रका थारु कलाकारहरुको भेलाले नगरस्तरीय समिति गठन गरिएको हो । भेलाले उत्तम थारु अध्यक्ष रहेको ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्ष सन्तोष थारु, सचिव अशोक थारु, कोषाध्यक्ष हसिना थारु रहेका छन् । यसैगरी भेलाबाट सविता थारु, पूजा थारु, विकास थारु र विष्णु थारु सदस्यमा सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले थारु मौलिक कला संस्कृतिको जोगाउन युवापुस्ता अग्रसर हुनुपर्ने जोड दिइन् । पछिल्लो समय थारु जातिको जातीय पहिचान हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै उपप्रमुख थारुले युवापिँढीहरु संगठित हुनुपर्ने औल्याइन् । नव गठित नगरस्तरीय थारु राष्ट्रिय कलाकार संघका पदाधिकारीहरुको कार्यसफलताको शुभकामना दिंदै कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख थारुले थारुहरुको पहिचान अगाडि बढाउन क्रियाशील हुनुपर्ने जिकिर गरिन् ।
अर्को प्रसंगमा उनले आगामी वर्ष नगरभित्रका हरेक थारुहरुको गाउँबस्तीमा दिउहार र थारु संग्रहालय निर्माणको योजना राखेको जनाउँदै सबैबाट सहयोगको खाँचो रहेको अवगत गराइन् । कार्यक्रममा शिवगढी साहित्य संगमका कोषाध्यक्ष रामप्रकाश थारुले सामुहिक रुपमा अगाडि बढ्न सुझाव पेश गरे ।
“एक थुकी सुकी, सय थुकी नदी” भन्ने मान्यतालाई आत्मसात गर्दै जातीय पहिचान जोगाउन थारुहरु सामुहिक अभियानमा जुट्नुपर्ने साहित्य संगमका कोषाध्यक्ष थारुले विचार व्यक्त गरेका थिए । कार्यक्रममा थारु राष्ट्रिय कलाकार संघका जिल्ला अध्यक्ष श्याम बहादुर थारुले जिल्लाको हरेक स्थानीय निकायमा संगठन विस्तार गर्ने प्रतिबद्धता जाहेर गरे । अन्तरनिहीत प्रतिभालाई उजागार गर्न संगठनले थप सहयोग पुग्ने जिल्ला अध्यक्ष थारुले विश्वास व्यक्त गरे । उनले नयाँ समितिको सफल कार्यकालको शुभकामना दिंदै समितिलाई सधैं क्रियाशील बनाउनुपर्ने तर्क राखे ।

प्रकाशित मिति : ११ बैशाख २०७५ मंगलबार ००:००  ७ : ०३ बजे