८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अझै ५ हजार बढी बालबालिका बिद्यालयको पहुँच बाहिर



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा अझै पनि ५ हजार भन्दा बढी विद्यार्थी विद्यालयको पहुँच भन्दा बाहिर रहेका छन । विद्यालय भर्ना अभियान बिगत चौध बर्ष देखि चलाईए पनि अझै प्रभावकारी भएको देखिएको छैन । २०६१ साल देखि भर्ना अभियान संचालन गरिए पनि जिल्लाको सबै भन्दा पुरानोे कपिलवस्तु नगरपालिका भित्र नै कैयौ बालबालिकाले बिद्यालयको मुख हेर्न पाएका छैनन । ‘हामी सकैको ईच्छा अनिवार्य र निःशुल्क आधारभुत शिक्षा’ भन्ने नाराका साथ बैशाख २ गते देखि जिल्लामा पनि भर्ना अभियान सञ्चालन भएकोछ । शिक्षा कार्यालयको फ्ल्यास रिपोर्ट अनुसार कक्षा १ देखि ५ सम्मका प्राबि तहका २ दशमलव ४ प्रतिशत र कक्षा १ देखि ८ सम्मका आधारभुत तहका ११ दशमलव ४ प्रतिशत बालबालिकाहरु अझै बिद्यालयको पहुँच बाहिर रहेको सहायक जिशिअ बावुराम भट्टराईले बताए ।
बिद्यालयको पहुँचबाट टाढा रहेका ५ बर्ष देखि १४ बर्षका बालबालिकालाई भर्ना गर्नका लागि हरेक बर्षको बैशाख महिना भरी भर्ना अभियान संचालन गरिए पनि त्यो प्रभावकारी हुन सकेको छैन । गरिबी, चेतनाको कमी र निमाबि तहको बिद्यालयको अभाव हुदा बालबालिकाहरु अझै बिद्यालयको पहँुच बाहिर रहेको शिक्षा कार्यालयका सहायक जिशिअ भट्टराईले बताए । अभियानमा जसरी पनि भर्ना गराउने तर बिचैमा छाडेर जाने परम्पराराले गर्दा बिद्यालय बाहिर रहेका बालबालिको संख्यामा कमी आएको हो ।
जिल्लामा रहेका २ सय बढी मदर्साहरु मध्ये केहीले अझै सम्म शिक्षा कार्यालयमा दर्ता गर्दा त्यसमा पढ्ने बालबालिकाहरुको संख्या नदेखिएकाले पनि समस्या देखिएको भट्टराई बताउँछन । स्विकृति नलिई संचालनमा रहेका बिद्यालयका कारण समेत केही बालबालिकाहरु बिद्यालयको पहुच बाहिर देखिएको उनको भनाई छ । दर्ता नभएका मदर्साहरुको बिद्यार्थीहरु फ्याल्स रिपोर्टमा देखिने भएकाले ती बिद्यार्थी पनि बिद्यालय बाहिर देखिन आएको उनले बताए । बिशेष गरी बालिकाहरुलाई अभिभावकहरुले बिद्यालयमा पठाउन नचाहने र त्यसैमा निमाबि समेत गाउमा नभए पछि बालिकाहरुको पढाई बिचैमा रोकिने गरेको उनले जनाए ।
सरकारले भर्ना अभियान चलाउने तर बिद्यार्थीलाई टिकाई राख्न कुनै कार्यक्रम नल्याउदा बिचैमा छाडेर जानेको संख्या धेरै हुने गरेको शिक्षकहरु बताउछन् । भर्ना हुने बालबालिका मध्ये ४८ दशमलव ५ प्रतिशत छात्रा रहेका छन । यस्तै प्राबिमा कक्षा छाड्ने दर ३ प्रतिशत र दोहोराउने १२ दशमलव ६ प्रतिशत छ । ५ सय २८ बाल बिकास केन्द्रमा पढ्ने १६ हजार बालबालिका मध्ये ५६ प्रतिशत मात्र कक्षा १ मा भर्ना हुने गरेका छन ।
बिशेष गरी जिल्लाको दक्षिणी, सुदुर पश्चिमी र पुर्वी क्षेत्रमा बिपन्नता, सचेतनाको कमी लगायतका अनेक समस्याले जेलिए पछि भर्ना अभियानले समेत सार्थकता पाउन सकेको छैन ।
उता जिल्लाका १ सय ३ प्रा.वि.दरबन्दी बिहीन छन । यसले पनी समस्या पारेको शिक्षकहरु गुनासो गर्छन । शिक्षा कार्यालय खारेज भई स्थानीय निकायमा गाभिएकाले अब स्थानीय निकायले भर्ना अभियानका लागि ठोस योजना बनाउनु पर्ने जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले बताए । ‘सबै बालबालिकाालई बिद्यालयको पहुच गर्न र बिद्यार्थीहरुलाई टिकाई राख्न स्थानीय निकायले बिशेष योजना बनाउनु पर्छ’ उनले भने । खासगरी अभिभावकहरु सचेत हुन जरुरी रहेको भन्दै उनले शिक्षक, अभिभावक, सरोकारवाला सबैको साझा प्रयास बिना समस्याको समाधान नहुने बताए । जिल्लाका ४ सय ३१ सामुदायिक, १ सय ५६ संस्थागत, २८ मर्दसामा गरि १ लाख ३५ हजार ४२७ बिद्यार्थी अध्ययनरत रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।(

प्रकाशित मिति : ५ बैशाख २०७५ बुधबार ००:००  १ : ४५ बजे