८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सडक मिचेर बनाईएका घरमा डोजर चल्यो, स्थानीय आक्रोसित



मायादेवी अनलाइन, बुटवल ।
सडक सिमा ८२ फुट भित्रका सडक मिचेर बनाईएका घर टहरा हटाउन बुटवलमा सडक परियोजनाले डोजर लगाएर भत्काउन सुरू गरेको छ । पटकपटक समय दिँदा पनि घरधनीले संरचना नहटाए पछि भत्काउनु परेको आयोजना प्रमुख जिवेन्द्र मिश्रले बताउनु भयो ।
करिब ६ वर्ष अघिदेखि सडक बिस्तार गर्ने प्रयत्न गरिए पनि सडक मिचेर घर बनाएकाले अवरोध गरेपछि अघि बढ्न सकेको थिएन । हाल ७५ फुट बुटवल राजमार्ग चौराहदेखि गोलपार्क सम्मको साढे ३ किलोमिटर सडकलाई ८२ फुट बनाउन बेलहिया(बुटवल ब्यापारिक मार्ग बिस्तार आयोजनालाई जिम्मा दिएपछि सडक निर्माणको काम शुरु भएको हो ।
आयोजनाले पटक पटक घर टहरा भत्काउन ताकेता गरेपछि कतिपय घरधनीले भने आफैं घर भत्काएर बनाईसकेका छन् । बढ्दो शहरीकरण, सवारी साधनको चाप र जनसंख्याको बृद्धीका कारण सरकारलाई सडक बिस्तारका लागि दबाव बढ्दै गएको थियो ।
तर, बुटवलका व्यापारिक संघ संस्थाहरुको अगुवाईमा घरधनी सडक बिस्तार कार्यलाई अगाडि नबढाउन भन्दै उच्च अदालत लुल्सिपुर बुटवल ईजलासमा मुद्धा दायर गरेपछि परियोजनाले सडक निर्माणको काम अगाडी बढाउन सकेको थिएन ।
हाल अदालतले घरधनीले दिएको मुद्दाको अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेपछि सडक विस्तारको काम अगाडि बढेको हो । बुटवल देखि गोलपार्क सम्म साढे तीन किलोमिटर सडकक्षेत्र मिचेर बनाईएका ३ सय ११ वटा घर भत्काउनुपर्ने छ । निर्वाचनको समयमा केही राजनीतिक दलहरुले भत्काउन नपर्ने भन्दै निराधार हल्ला फैलाए पछि केही घरधनीहरु दोधारमा समेत परेका थिए ।
सिद्धार्थ राजमार्गको बुटवल बेलहिया सडक खण्डमध्ये राजमार्ग चौराहदेखि बेलहिया सम्मको सडक किनारका घर भत्काएर बिस्तार गरेको आयोजनाले चौराह देखि गोलपार्क सम्मको खण्ड नभत्काउदा आलोचना भएको थियो ।
सडक विस्तारको जिम्मा द कञ्चनजङघा बिरूवा जेभी कन्स्ट्रक्सन प्रालि, काठमाडौंले लिएको छ । गत वर्ष चैत ३० गते ३० महिनाभित्र चार लेनको सडकलाई ६ लेनमा विस्तार गर्ने गरी ४१ करोड २३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले हालसम्म ४ करोड रुपैया भुक्तानी लिईसकेको छ । यो सडक विस्तार २०७६ असोजसम्म सक्नुपर्ने सम्झौता छ ।
सडक बिस्तारमा ढिलाई गरेको भन्दै आलोचना भईरहदा बुटवलमा क्रियाशिल राजनीतिक दल र संघसंस्थाहरु पनि सडक बिस्तारको विपक्षमा उभिएका छन् । आफ्ना मतदाता र व्यवसायीले सडक सीमा मिचेका घर भत्काउनुपर्ने भएपछि छटपटिएका बेला बुटवलका संघसंस्था र राजनीतिक दलहरुले सामूहिक हस्ताक्षर सहित घर नभत्काउन दबाब दिएका छन् ।
आज पनि सडक बिस्तार आयोजनाले डोजर लगाएर संरचना हटाउँदै गर्दा व्यवसायीहरुले विरोध गरेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७५ बुधबार ००:००  १ : २९ बजे