सीताराम चौधरी, कपिलवस्तु ।
जिल्लाको एक कृषि सहकारी संस्थाले समुदायका विपन्न परिवारकी एक बालिकालाई शैक्षिक सहयोग प्रदान गरेको छ ।
बुद्धभूमि नगरपालिका अन्तर्गत टिक्करमा स्थित चेली कृषि सहकारीले आर्थिक अवस्था कमजोर रहेकी गीता थारुलाई सहकारीको व्याज रकमबाट शैक्षिक सहयोग गरेको हो । गीता सिद्धार्थ स्मारक माध्यमिक विद्यालय भेलाईलयमा कक्षा ३ मा अध्ययनरत छिन् ।
सहकारीले उनलाई विद्यालय पोशाक, कापी, कलम, व्याग लगायतका शैक्षिक सामग्री प्रदान गरेको थियो । कक्षा १२ सम्म अध्ययन गर्दा लाग्ने सम्पूर्ण खर्च सहयोग पु¥याउने सहकारीकी अध्यक्ष अरुणा श्रेष्ठले जानकारी दिनुभयो । यस किसिमको सामाजिक कार्य सहकारीमार्फत पहिलो पटक शुरुवात गरेको श्रेष्ठले बताउनुभयो ।
वि.सं. २०७२ सालमा केआई नेपालको सहयोग र समुदायका महिलाहरुको सक्रियतामा चेली कृषि सहकारीको स्थापना भएको हो । सहकारीमा हाल ३७८ जना सेयर सदस्य आबद्ध छन् । सहकारीमा आबद्ध महिलाहरु विभिन्न तालिम तथा सीपमुलक व्यवसायको माध्यमद्वारा सक्षम र आत्मनिर्भर बनेको केआई नेपालका जिल्ला संयोजक केसर विश्वकर्माले जानकारी दिनुभयो ।
केआई नेपालकै सहयोगमा अहिले विभिन्न ६ जिल्लामा चेली कृषि सहकारीको स्थापना भएको छ । समुदाय विकास कार्यक्रममार्फत महिलाहरु समूह तथा सहकारीमा आबद्ध भई आयमूलक, सीपमूलक, नेतृत्व विकास तालिम लिई आत्मनिर्भर बनेका छन् । महिलाहरुको सशक्तिकरण र आत्मनिर्भर बनाउन प्रमुख भूमिका खेल्ने केआई नेपाल मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको लागि निरन्तर क्रियाशिल रहदै आएको छ ।
५ बैशाख २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया