८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

तिलोत्तमाको संकल्प : एक वर्षभित्र प्लास्टिक झोलामुक्त नगर !



मायादेवी अनलाइन, बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नयाँ वर्षको अवसर पारेर एक वर्ष्भित्र प्लास्टिक झोलामुक्त नगर बनाउने संकल्प गरेको छ ।

नगरले ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नाराका साथ नयाँ मिलचोकमा भएको कार्यक्रममा सहभागीहरुले एकसाथ ११ बुंदे प्रतिवद्धता वाचन गरेका छन । कार्यक्रममा रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, रुपन्देही १ का प्रदेश सभा सांसद दधिराम न्यौपाने, रुपन्देहीकै अर्का सांसद बलदेव शर्मा पोखरेलका साथै स्थानीयको उल्लेख्य सहभागिता थियो ।

तिलोत्तमा नगरपालिकाले २०७६ असारसम्म प्लास्टिक झोला र गिलास घटाउने र २०७६ साउन देखि हटाउने बताएको छ । सांसद घनश्याम भुसाल र नगरप्रमुख बासुदेव घिमिरेले प्लास्टिक झोलामुक्त अभियानका संयोजक केशवराज न्यौपानेलाई एक बोरा कपडाको झोला हस्तान्तरण गर्नुभएको छ ।

तिलोत्तमा नगरवासीले अब बजारमा किनमेल गर्न जाँदा कपडा वा जुटको आफ्नै झोला लिएर जानु पर्नेछ । सांसद घनश्याम भुसालले प्लास्टिकजन्य वस्तु वातावरणीय हिसाबले ‘डरलाग्दो विष’ भएकाले नगरपालिकाले सराहनीय अभियान थालेको बताउनुभयो ।

प्रदेशसभा सांसद बलदेव शर्मा पोखरेल र दधिराम न्यौपानेले पनि अभियान अनुकरणीय रहेको भन्दै प्रतिवद्धता व्यवहारमा कार्यान्वयन गर्न सुझाउनुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिलोत्तमालाई प्रदेशको मात्र नभई देशकै सुन्दर, व्यवस्थित र वातावरणमैत्री नमूना नगरपालिका बनाउने लक्ष्य सहित प्लास्टिकमुक्त अभियान थालिएको बताउनुभएको छ ।

नगर कार्यपालिकाले फोहरमैला व्यवस्थापन कार्य्विधि पारित गरिसकेकाले नियम उल्लंघन गर्नेलाई एक हजार देखि एक लाखसम्म जरिवाना गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २ बैशाख २०७५ आइतबार ००:००  १ : २१ बजे