सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका ११, थुन्हियामा नगरप्रमुख नेत्रराज अधिकारीकै नेतृत्वमा सडक अतिक्रमण हटाइएको छ ।
योजना अनुगमनका क्रममा त्यहाँ पुगेको नगरप्रमुख अधिकारी सहितको टोलीको उपस्थितिमा अतिक्रमण हटाई सडक विस्तार गरिएको हो । बर्षौंदेखि बाटो छेउ कर्नर अतिक्रमण गरि टहरा, बार लगाइएको भएपनि सडक विस्तारका क्रममा अतिक्रमण हटाइएको नगरप्रमुख अधिकारीले बताए । यसअघि नै स्थानीयहरु बसेर छलफल गरेपनि हटाउन नमानेपछि नगरप्रमुखकै उपस्थितिमा शुक्रबार हटाइएको हो । अहिले सो बस्तीमा १० लाखको लागतमा ८ मिटर चौडा ५४० मिटर लम्बाईको बाटोको स्तरोन्नति भइरहेको छ ।
टोलीमा नगर उपप्रमुख शिवकुमारी थारु, प्रमुख कार्यकारी अधिकृत शेषकान्त पौडेल, इन्जिनियर राजेश शैनी, सबइन्जिनियर मोहन के.सी., वडाध्यक्ष रामेश्वर प्रसाद बर्मासहितको सहभागिता रहेको थियो । टोलीले खरेन्द्रपुर, नयाँबस्ती, मर्जादपुर, मैटहवा लगायतको योजना अनुगमन गरेको थियो । सबइन्जिनियर एवं साइट प्रमुख मोहन केसीका अनुसार खरेन्द्रपुर नहरमा २ लाखको लागतमा नाली निर्माण गरिएको छ । मर्जादपुर र मैटहवामा ६–६ लाखको लागतमा पीपीसी ढलान सडक योजना सम्पन्न भइसकेको केसीले बताए । मैटहवामा ८ लाखको लागतमा ५सय मिटर सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको केसीले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०७४ मा वडा नम्बर ११ मा २२ योजना संचालन भएको साइट प्रमुख के.सी.ले जानकारी दिए । वडा ११ मा कूल लागत १करोड ४० लाख बराबरको योजनामध्ये ५४ प्रतिशत सम्पन्न भइसकेको केसीले बताए ।
शिवराज नगरपालिकाले पहिलो चरणमा सडक, बाटो कालोपत्रे, पीसीसी, स्तरोन्नतिलाई प्राथमिकतामा राखेको नगरप्रमुख नेत्रराज अधिकारीले जानकारी दिए । यस्तै कृषि, शिक्षा, स्वास्थ्यलाई सँगसँगै अगाडि बढाएको नगरप्रमुख अधिकारीले बताए । आगामी दिनमा सडक योजनालाई दोस्रो चरणमा राखी शिक्षा स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकता राखी काम गर्ने बताए । ५ वर्षभित्र शिवराजलाई नमूना नगरपालिकाको रुपमा पहिचान बनाउने लक्ष्यका साथ कार्यक्रमलाई अघि बढाइएको उनले जनाएका छन् ।
१ बैशाख २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया