८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बेलहियामा बुद्धत्व झल्कने आकर्षक प्रवेशद्वार बन्दै



भुवन पाण्डे, भैरहवा ।
रुपन्देहीको नेपाल–भारत सीमानाका बेलहियामा नेपालको चिनारीसहित बुद्धत्व झल्कने आकर्षक प्रवेशद्वार बन्ने भएको छ । सिद्धार्थनगर नगरपालिकाले एक करोड ५० लाख लगानीमा उक्त गेट बनाउन लागेको हो । बेलहिया नाका स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रन नाका हो भने नेपालको दोस्रो ठूलो भन्सार नाका हो । यो नाका हुँदै भारतलगायत तेस्रो मुलुकका लाखौ पर्यटक लुम्बिनीमा भ्रमणमा आउँछन् । लुम्बिनी आउने पर्यटकलाई बुद्धजन्मस्थल प्रवेश गरेको झल्कोे दिने गरि प्रवेशद्वारा बनाउन लागिएको नगरप्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो । बेलहियामा रहेको पुरानो प्रवेशद्वार सडक बिस्तारमा हट्ने भएपछि नगरपालिकाले शान्तिद्वार निर्माण गर्न थालेको हो ।

प्रवेशद्वार ५० मीटर लम्बाई, २३ मीटर ८० सेन्टिमीटर चौडाई तथा सडकदेखि २९ मीटर अग्लो हुनेछ । द्वारलाई नेपालको चिनारी झल्कने कलात्मक बस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्ध मूर्ति, हर्निका, आर्च, स्पायर गजूर, हरियाली जोन, नेपाल«को राष्ट्रिय झण्न्डा, बुद्ध झण्डाले सिंगारिनेछ । यस्तै द्वारामा बौद्ध ध्वनी गुन्ज्याएमान पनि हुने नगरपालिकाका बरिष्ठ इन्जिनियर यमलाल पाण्डेले बताउनुभयो ।

जनप्रतिनिधि, स्थानिय र बिज्ञहरुको छलफलमा प्रवेशद्वारको नमुना तयार पारिएकोे छ । द्वारको डिजाइन तयार पार्न नगरपालिकाले नेस्ट डिजाइन आर्केटेक्ट कन्सल्टेन्सी जेभी काठमाडौंलाई छनौट गरेको थियो । उक्त कन्सल्टेन्सीले नगरपालिकालाई गेटको नमूना तयार पारी हस्तान्तरण गरिसकेको छ । अब डेढ महिनाभित्र निर्माण थालिने छ । उक्त द्वार २०७५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७४ शुक्रबार ००:००  ११ : ३० बजे