सीताराम चौधरी, कपिलवस्तु ।
प्रदेश नम्बर ५ कै नमूना विद्यालयको रुपमा छनौटमा परेको नेपाल आर्दश माविले वृहत कार्यक्रमका बीच ४३औं वार्षिकोत्सव तथा १९औं अभिभावक दिवस मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य अभिशेष प्रताप शाहले विद्यालयको चौतर्फी विकासका लागि सबैको दायित्व रहेको औल्याएका थिए । नमूना विद्यालय छनौटमा परेको यस विद्यालयले जिल्लाकै गौरब बढाएको सांसद शाहले जिकिर गरे । आगामी दिनमा यस विद्यालयलाई नेपालकै नमूना विद्यालयको रुपमा स्थापित गर्न सबैजना लाग्नुपर्ने तर्क राखे ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नेपाल आदर्शले सिंगो शिवराज नगरपालिकाकै शिर उचो पारेको विश्वास व्यक्त गरे । नेपाली र अंग्रेजी दुवै माध्यमबाट शिक्षण पठन पाठन गरी शिक्षण सिकाईलाई अझ प्रभावकारी बनेको बताउँदै यसलाई उच्च शिक्षासम्म लैजानुपर्ने धारणा राखे । यस्तै जिल्ला शिक्षा अधिकारी सुरेन्द्र पराजुलीले जिल्लामै नमूना विद्यालयको रुपमा स्थापित नेपाल आदर्शले आगामी दिनमा गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी बनाओस् भनी शुभकामना व्यक्त गरेका थिए । साथै उनले विद्यालयलाई आवश्यक पर्ने हरेक क्षेत्रबाट सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए । यसका साथै कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले विद्यालयको अग्रगामी विकासमा हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुक्तनाथ पोख्रेलले वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक पोख्रेलले अबको ५ वर्षभित्र विद्यालयमा चार हजार विद्यार्थी पु¥याई यस क्षेत्रकै मेगा स्कूल बनाउने लक्ष्य लिएको बताए । साथै उनले वि.सं. २०८५भित्र ६ हजार विद्यार्थी पु¥याउने र गुणस्तरीय शिक्षामा बढी जोड दिइने विश्वास व्यक्त गरे ।
वि.सं. २०३१ सालमा स्थापना भएको नेपाल आदर्शमा यतिबेला नेपाली माध्यमबाट १२ सम्मको कक्षा संचालन गरिएको छ भने गत वर्षदेखि अंग्रेजी माध्यमबाट समेत पठन पाठन सुचारु गरेको छ । यसवर्ष विद्यालयले अंग्रेजी माध्यममा नर्सरीदेखि ९ कक्षासम्म संचालन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बालाराम बुढामगरले जानकारी दिए । निजी विद्यालयलाई टक्कर दिंदै अंग्रेजी माध्यमबाट क्रमशः १२ सम्म पु¥याउने लक्ष्यका योजना अघि सारेको अध्यक्ष बुढाले बताए ।
कूल २२सय १८ विद्यार्थी अध्ययनरत विद्यालयमा हाल ८० जना शिक्षक कर्मचारी रहेको विद्यालयले जनाएको छ । विद्यालयले कक्षा ९ र १० मा साधारण, प्राविधिक तथा एकीकृत शिक्षा संचालन गरेको छ । हाल विद्यालयमा १० जना दृष्टिविहीन विद्यार्थी अध्ययनरत रहेको प्रअ पोख्रेलले जनाए ।
कार्यक्रमको अवसरमा विद्यालयले यसवर्ष सेवा निवृत्त द्रोणप्रसाद अधिकारी र दयाराम चौधरीलाई दोसल्ला, टोपी र कदरपत्रले सम्मान गरेको थियो । यसैगरी स्व. दीर्घ बहादुर के.सी.को स्मृतिमा छोराहरु अर्जुन, गणेश र रामचन्द्र केसीद्वारा स्थापना गरिएको ५ लाखको अक्षयकोषको ४० हजार ब्याज रकमबाट २८ जना जेहेन्दार, विपन्न र गरीब विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो । यस्तै प्रेमचन्द्र स्मृति अक्षयकोष १ लाखको प्राप्त ६ हजार व्याज रकम ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ ।
२९ चैत्र २०७४ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया